काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा १६ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिवद्धता नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को साउन, भदौ र असोज महिनामा १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ बराबर प्रतिवद्धता नेपाल भित्रिएको हो ।
३ महिना अवधीमा २०४ वटा उद्योगमा लगानी उक्त प्रतिवद्धता आएको हो । विभागका अनुसार चालू आर्थिक वर्षको असोज महिनामा मात्रै ३ अर्ब ४५ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । ५५ वटा उद्योगमा लगानी प्रतिवद्धता आएको हो ।
प्रत्यक्ष विदेशी लगानी कम्पनीमा असोज महिनामा मात्र १५ सय ४० कर्मचारी रोजगारमा प्रतिबद्ध भएका छन् । त्यसैगरी साउन देखी असोज सम्मको तथ्याङ्कलाई हेर्दा ६ हजार ५ सय ४३ ले रोजगार पाएका छन् भने आर्थिक वर्षको सुरुवात देखी असोज मसान्त सम्ममा ३ लाख ३६ हजार १ सय ६४ रोजगारमा आबद्ध भएका छन् ।
चालु आवको ३ महिनामा नेपालमा दर्ता भएका विदेशी लगानीका परियोजनामध्ये ९३ परियोजना अर्थात कुल परियोजनाको ७१ प्रतिशत परियोजना पर्यटनसम्बन्धी छन् । यी परियोजनामार्फत पछिल्लो ३ महिनामा ९ अर्ब ९० कारोड अर्थात कुल लगानी प्रतिवद्धताको ६४ प्रतिशत प्रतिवद्धता आएको देखिन्छ ।
यस्तै नेपालमा धेरै परियोजना र प्रतिवद्धता भित्र्याउने दोस्रो क्षेत्रमा सेवाक्षेत्र छ । यो क्षेत्रमा पनि पछिल्लो ३ महिनामा १८ परियोजनामार्फत ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ । यस्तै यसै अवधिमा उत्पादनमुलक क्षेत्रमा १२ परियोजनामार्फत १ अर्ब ७ करोड, कृषि क्षेत्रका २ परियोजनामार्फत ५८ करोड र सूचना प्रविधि क्षेत्रमा ५ परियोजनामार्फत १७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।
यद्यपी नेपालमा विदेशी लगानीकर्ताले गर्ने प्रतिवद्धताको तुलनामा औसतमाा ३५ प्रतिशत मात्रै लगानी भित्रिने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।




