अर्थ

माथिल्लो त्रिशूली- १ को सुरुङ निर्माण सम्पन्न

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधलगायतका संरचना निर्माणका लागि डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–१ मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा बन्दैगरेको २१६ मेगावाटको उक्त जलविद्युत आयोजनाको बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण गरिएको हो ।

सुरुङ निर्माण सम्पन्न भएपछि हिजो मंगलबारबाट सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्टका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले जानकारी दिए ।

उनले भने, ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ । मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको छ ।’ उनले निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्ववाद दिँदै तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेकोसमेत बताए ।

आयोजनाको भूमिगत विद्युतगृह खन्ने कार्य करिब २१ प्रतिशत सम्पन्न भएको छ । समग्र भौतिक प्रगति भने १४ प्रतिशत रहेको बताइएको छ । आयोजनाको मुख्य निर्माण गत २०७८ पुसबाट सुरु गरिएको थियो भने हाल आयोजना निर्माणमा करिब ७ सय कामदार परिचालित छन् । जसमध्ये रसुवाका स्थानीय बासिन्दा करिब ३ सय छन् ।

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको यो आयोजना हालसम्मकै ठूलो जलविद्युत आयोजना हो ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया साउथ इस्ट पावर कम्पनी (कोएन), विश्व बैक समूहअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगमलगायतको लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ ।

यस आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

आयोजनाको निर्माण २०८३ को मंसिर भित्र सक्ने लक्ष्य राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *