काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढंगले अघि नबढाए मुलुक राजनीतिक तथा आर्थिक संकटमा फस्न सक्ने चेतावनी समेत दिएका छन् ।
एमालेले एमसीसीका बारेमा कुनै धारणा सार्वजनिक नगरेका बेला उपाध्यक्ष पाण्डेले एमसीसी पारित नहुँदा अमेरिकासँगको सम्बन्धमा जटिलता आए त्यसले मुलुकमा राजनीतिक तथा आर्थिक संकट आउने सक्ने बताएका हुन् ।
एमसीसीका बारेमा सत्तारुढ दलकै नेताहरुका बिचमा एकमत नरहेको भन्दै उनले भने,‘हिजै मात्रै पनि सर्वदलीय बैठक बसेको कुरा छ । बैठकमा हाम्रो पार्टी सहभागी भएन । तर उनीहरुको बैठक विना निष्कर्ष टुंगियो अथवा सरकार पक्षकै दलहरुका बीचमा पनि विमतीहरु चाँही चरम रुपले परस्पर विमतिहरु पैदा भयो । अहिले पनि गर्नु हुँदैन यसलाई लिनु हुँदैन भन्ने दलहरुको भनाईको कारणले गर्दा प्रधानमन्त्री र अन्य दलहरुकै बीचमा पनि गम्भिर असहमती देखिन्छ ।’
कुनै पनि देशबाट आर्थिक सहयोग लिँदा सर्त हुने भन्दै एमसीसीका बारेमा नबुझीकन प्रतिक्रिया दिइरहेको उनको तर्क छ ।




