ताजा समाचार

पुनः नियुक्ति हुन अर्थमन्त्री खतिवडाको राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज दिउसो राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि खतिवडाले आजै राजीनामा दिएका हुन् । मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत राजीनामा दिएका खतिवडा फेरि मन्त्री नियुक्त हुनेछन् । संविधानअनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री बन्न सक्छन् । खतिवडाले बुधबार फेरि मन्त्रीको सपथ लिनेछन् । उनले बुधबार अर्थ र सञ्‍चार मन्त्रीको नियुक्ति लिएर सपथग्रहण गर्ने बताइएको छ ।

आजदेखि दुईवर्षको कार्यकाल पूरा गरेर १८ जना राष्ट्रियसभाका सांसदहरु बिदा भएका छन् । खतिवडासहित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली कांग्रेस, राजपा र समाजवादी दलका गरी १८ जना सांसदको पदावधि सकिएको हो । उनी मंगलबारदेखि सांसद नभइ मन्त्रीमात्रै रहनेछन् । सांसद नहुँदा पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । उनी राष्ट्रपतिले मनोनित गर्ने सिटमा सांसद भएका हुन् । कार्यकाल सकिनेहरुमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *