काठमाडौं।मैतिदेवीमा रहेको दूरदर्शन बचत तथा ऋण सहकारी संस्थाकी एकाउन्टेन्ट अनिता जिसीले फर्जी कागजपत्र बनाएर १ करोड ५१ लाख ठगी गरेको भन्दै अदालतमा मुद्दा विचाराधीन छ । जिसीले सहकारीको रकम हिनामिना गर्न सफ्टवेयर नै ह्वयाक गरि फर्जी कागजपत्र तथा ऋणी तयार पारेपछी सरकारी सञ्चालकले गत मंसिर १७ गते जिल्ला अदालतमा लेनदेनमा मुद्दा हालेका थिए । तर मुद्दाबाट जोगिन जिसीले उल्टै सञ्चालक समितिका सचिव एवं ब्यवस्थापक प्रमोदचन्द्र अधिकारीले गत भदौमा बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा जाहेरी दिएपछी अधिकारी पक्राउ परेका छन् । २०७६ असोज १० गते एकाउन्टेन्ट जिसीले सहकारीको १ करोड ५१ लाख भन्दा बढी रकम हिनामिना गरेको स्वीकार गर्दै रकम एकसाता भित्रमा तिर्ने भन्दै सहकारीकै अध्यक्ष दामोदर सुवेदीसँग करारनामाको कागज गरेकी थिइन् ।


सहकारीमा बदनियत र वेइमानी गर्ने नियतले सम्पूर्ण हिसावकिताव पारदर्शी राख्न नसकेको र सहकारीको सफ्टवेयरमा ह्याक गर्न लगाई लेखा विवरणमा खराबी आउने गरि गलत मनसायले ब्यक्तिगत फाइदाको लागि गरेको निर्शत स्वीकार गर्दछु भनेर जिसीले स्विकार गरेको करारनामा उल्लेख छ । तर रकम नतिरेपछी पटक पटक ताकेदा गर्दा रकम तिर्नु त परै जाओस् उल्टै माघ २४ गते ब्यवस्थापक अधिकारीले भदौमै अफिसकै कोठामा बोलाएर जवर्जस्ती गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
अचम्मको कुरा त के छ भने- एकसाता अर्थात असोज १६ सम्ममा रकम तिर्ने सहमति गरेकी जिसीले मंसिर दोस्रो सातासम्म रकम नतिरेपछी सहकारीले जिल्ला अदालत काठमाडौंमा लेनदेन र ठगीको मुद्दा दायर गरेको देखिन्छ । फिरादपत्रमा सहकारीको जिसीले १ करोड ५१ लाख भन्दा बढी रकम हिनामिना गरेकोले असूल उपर गरिपाउँ भनि उल्लेख छ । यो फिरादपत्र दर्ता भएसँगै जिसीले माघ २४ गते काठमाडौं प्रहरी परिसर टेकुमा आफूमाथी अधिकारीले यौन दुराचार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
रकम हिनामिनाको मुद्दा परेपछी ६ महिना अगाडीको घटना भन्दै प्रहरीमा जाहेरी आएकोले यसबारे गम्भीर अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले बताए ।




