काठमाडौं । नेपालीहरू केही खानेकुरा खाएपछि सडकमै खोल फ्याँकिदिन्छन् । खानेकुरा खाइसकेपछि खोल ‘डस्टबिन’ मा फ्याँकिदिने हो भने सडक सफा हुन्छ । फोहोर आफैं हुँदैन्, हामीले गर्ने हो । यो समस्या काठमाडौं उपत्यकामा मात्र होइन, मुलुकको हरेक जिल्लामा छ । जसकारण सडक एकदमै दुर्गन्धित बनेको छ । जनतामा त चेतना आएन, तर जनप्रतिनिधि पनि त्यस्तै छन् । सरकारी कार्यालयमा जानुपर्छ, हाकिमहरू चुरोटको धुँवा उडाइरहेका हुन्छन् । सरकारी कर्मचारीहरू नै पराग, गुट्खा खाएर सडकमा थुकिदिन्छन् । सरकारी कार्यालयमा एउटा ‘डस्टबिन’ को व्यवस्थासमेत गरिएको हुँदैन । जसकारण सेवाग्राहीहरूले फोहोर सडकमा फ्याँकिदिन्छन् ।
हरेक सरकारी निकायको अवस्था यस्तै छ । चाहे त्यो नगरपालिका होस् चाहे मन्त्रालय । मेयर, उपमेयर, वडाध्यक्षहरूलाई त यसतर्फ ध्यान नै छैन । मन्त्रालयभित्रका कर्मचारी कसैको डर नमानी चुरोट तानिरहेका हुन्छन् र गुट्खा चपाइरहेका भेटिन्छन् । सरकारले सार्वजनिकस्थलमा चुरोट, गुट्खा, परागलगायत सुर्तीजन्य पदार्थ बेच्न रोक लगाएको छ । बेच्ने र खाने दुवैलाई कैद सजाय र जरिवाना गर्ने कानुनी व्यवस्था छ । तर, सरकारी कार्यालयमा सञ्चालन भएका क्यान्टिनहरूमा खुलेआम यस्ता हानिकारिक वस्तु बेचिरहेको पाइन्छ । सरकारले आफैंले गरेको निर्णय आफैंले कार्यान्वयन गर्न सक्दैन भनेर यसैबाट पुष्टि भइसकेको छ ।
वडा, नगरपालिकामा पनि ‘डस्टबिन’ आइरहेको हुन्छ । सरसफाइका लागि भनेर सरकारले बजेट छुट्याएको हुन्छ । त्यो बजेट खोइ त ? कहीँकतै सरसफाइ छैन् । नगरपालिकाले राखेको कर्मचारीहरूसमेत ‘दिन कटाउने र माना पचाउने’ काम गरिरहेका छन् । आकाशे पुलहरू उत्तिकै फोहोर छ । त्यसतर्फ कसको ध्यान जाने ? सडकमा हिँड्न नसक्ने अवस्था बनेको छ ।
पसलेहरू सामान बेच्छन्, तर एउटा ‘डस्टबिन’ को व्यवस्थापन गर्दैनन् । ग्राहकले सामान किनेर खान्छ, पसलअगाडि फ्याँकिदिन्छ । तापनि उसलाई मतलब छैन । पसलेलाई सामान बेच्न पाए, पुगिहाल्यो । सडक छेउछाउ गाडामा फलफूल बेच्न राखिएको हुन्छ । मान्छेहरू त्यहीँ उभिएर केरा खान्छन्, बोक्रा सडकमा फ्याँकिदिन्छन् । आफ्नो कारणले कोही चिप्लिएर लड्न सक्छन्, दुर्घटना हुन सक्छ भनेर उनीहरू सोच्दैनन् । चाहे निजी प्लेटका यात्रु हुन्, चाहे भाडाका गाडीका यात्रुले खाएको फोहोर झ्यालबाट सडकमा फ्याँकिदिन्छन् ।
लामो रोडमा चल्ने सवारी होस् या छोटो रोडमा ‘डस्टबिन’ राखिएको हुँदैन । निजी प्लेटका सवारीहरूले समेत आफ्नो गाडीमा ‘डस्टबिन’ राख्दैनन् । खाने बेला आफू खान्छन् अनि सबैलाई सास्ती हुनेगरी सडकमा फ्याँकिदिन्छन् । पानीको बोतल, प्लास्टिक, फलफूलका बोक्रा, चुरोटका ठुटालगायतका फोहोरले सडक भरिपूर्ण छ । अहिले अधिकांश शिक्षित बनिसकेका छन् । पहिलेजस्तो नपढेका त कमै होलान् । फेसन थाहा हुनेलाई सडकमा फोहोर फाल्न हुँदैन भन्ने थाहा हुँदैन ?
विडम्बना, पढेलेखेकाहरूले नै करोडको घरमा बस्छन् । लाखौंको गाडी चढ्छन् । तर, आफ्नो घरअगाडि एउटा ‘डस्टबिन’ पनि राख्दैनन् । आफू बसोबास गर्ने स्थल आफैंले सफा गर्नुपर्छ भनेर उनीहरूले सोच्दैनन् । उनीहरूसँग दुनियाँ ठाउँमा खर्च गर्ने पैसा हुन्छ, तर एउटा ‘डस्टबिन’ किन्ने पैसा हुँदैन । आफूले गरेको फोहोर आफैंले व्यवस्थापन गर्नुपर्छ भन्ने सोचाइ यिनीहरूमा छैन् । जीउमा सुकिलामुकिला लुगा लगाउँदैमा सोच पनि त्यस्तै हुँदैन रहेछ भन्ने उदाहरण जनताले दिइरहेका छन् ।
बाग्मती सफा गर्न थालेको यत्रो वर्ष बितिसकेको छ । तर, कुनै उपलब्धि हात पर्न सकेको छैन ।
बाग्मती सरसफाइको नाममा जनताको तिरेको करोडौं बजेट सोत्तर बनिसकेको छ । अवस्था ज्युँका त्युँ छ । बाग्मतीमा हालेको रकम सबै बालुवामा पानी मिसाएझैं भएको छ । स्थानीय तहले सरसफाइ भन्दै आफ्नो कार्यकर्ता पोस्ने काम गरिरहेको छ । १० वटा कुच्चो किनेर एक सयवटाको बिल बनाउँछन् । बाँकी मिलीजुली खान्छन् । अन्य सामानमा पनि यसरी नै कमिसन खाने क्रम चलिरहेको छ ।
गैरसरकारी संस्थाहरूले पनि यस्तै धन्दा चलाउँदै आएका छन् । कुचो समाएर फोटो खिच्ने अनि विदेशीबाट डलर ल्याएर पचाउने । नेपाल सरकारसँग पनि बजेट मागेर खान्छन् यिनीहरू । एनजिओहरू काम केही नगर्ने, फोटोको भरमा पैसा मागेर खान्छन् ।
कानुन कार्यान्वयन गर्ने हरेक निकाय निदाउँदा जनताले अटेर गरेका हुन् । धूम्रपान र मदिरापान गर्नुहुँदैन भनेर सरकारले नागरिकमा सचेतना फैलाउने काम गरिरहेको छ । तर, त्यस्तो हानिकारक वस्तु बनाउने लाइसेन्स दिने को ? सरकार होइन ? नौटंकी देखाउने पनि हद हुन्छ । जनताको आँखामा कतिसम्म छारो हाल्न जानेको ।
सरकारले घरअगाडिको फोहोर आफैंले सफा गर्ने नीति बनाउनुपर्यो ।
सार्वजनिक स्थलमा धूम्रपान र सुर्तीजन्य पदार्थ बेच्न नपाउने नियम कडाइका साथ लागू गर्नुपर्यो । बाटोमा फोहोर फ्याँक्नेलाई कैद र जरिवानाको व्यवस्था गरियोस् । कहिले जरिवाना निकै कम छ । सरकारले कडाइपूर्ण नियमको कार्यान्वयन गर्ने हो र नागरिकले आफूले गरेको फोहोर आफैंले सफा गर्ने हो भने देशभरका सडक दुर्गन्धमुक्त हुन्छ । विदेशीले डलर पठाएर नेपाल सफा हुँदैन, नेपाली आफैंले सफा गर्नुपर्छ ।
भक्तपुर




