नयाँ दिल्ली । भारतको दिल्लीमा भइरहेको जी-२० सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन भाषण दिइरहेका बेला धेरैको ध्यान उनको टेबलमा राखिएको बोर्डतर्फ खिचिएको थियो ।
उनको अगाडि राखिएको बोर्डमा ‘भारत’ लेखिएको थियो । विगतमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको अगाडि ‘इण्डिया ’ लेखिएको देखिन्थ्यो ।
यसैबीच गत वर्ष नोभेम्बर १५ मा इन्डोनेसियाको बालीमा भएको जी–२० देशको सम्मेलनमा प्रधानमन्त्री मोदीको अगाडि राखिएको बोर्डमा ‘इण्डिया’ लेखिएको थियो ।
हालै राष्ट्रपति द्रौपदी मुर्मुले जी–२० सम्मेलनको निमन्त्रणा पत्रमा ‘इण्डिया’को सट्टा ‘भारत’ लेखेपछि शुरु भएको विवादले अब अन्तर्राष्ट्रिय मञ्चमा ‘इण्डिया’ को सट्टा ‘भारत’ भनिने निश्चित देखिएको छ ।
शुक्रबार नै संयुक्त राष्ट्रसंघले भारतले आफूलाई औपचारिक माग पठाए र सबै औपचारिकता पूरा गरेमा संयुक्त राष्ट्रसंघको रेकर्डमा ‘इण्डिया’को नाम परिवर्तन गरेर ‘भारत’ राखिने बताएको थियो ।
भारतमा विपक्षी दल कांग्रेस लगायत अन्य विपक्षी दलहरूले मोदी सरकार देशको नाम ‘इण्डिया’बाट ‘भारत’ गर्न चाहेको बताउदै आएका छन् ।
विपक्षी गठबन्धनले केहि महिना अघि आफ्नो गठबन्धनको नाम नै ‘इण्डिया’ राखेपछि सत्तारुढ दल भारतीय जनता पार्टीले ‘इण्डिया’ नामको सट्टा देशको नामनै ‘भारत’ राख्ने तयारी गरेको देखिएको छ र यसको प्रयोग समेत शुरु भएको छ ।
यहि सेप्टेम्बर १८ बाट सुरु हुने संसदको आगामी विशेष सत्रमा भारतको नाम परिवर्तन गरेर भारत राख्ने प्रस्ताव पनि ल्याउन सकिने मिडिया रिपोर्टमा दाबी गरिएको छ । यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।
जी–२० सम्मेलनमा प्रधानमन्त्रीको अगाडि बोर्डमा ‘भारत’ मात्रै लेखिएपछि सामाजिक सञ्जालमा पनि बहस सुरु भएको छ ।




