राजनीति

सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्र र कार्यदल बैठक आज बालुवाटारमा

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र र कार्यदल दुवैको बैठक आज (बुधबार) एकै दिन बस्दैछ। दुवै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बेग्लाबेग्लै समयमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलको बैठक साँझ ५ बजे बस्नेछ र यो सकिएलगत्तै साँझ ६ः३० बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नेछ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन्। नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवाको सहभागिता रहनेछ।

त्यसैगरी, कार्यदलको बैठकमा भने अध्यक्ष ओली र सभापति देउवाबाहेक दुवै दलका अन्य नेताहरूको सहभागिता रहनेछ। यो कार्यदललाई संविधान संशोधन, संसद्मा विचाराधीन विधेयकहरूलाई अघि बढाउने र सरकारको सेवाप्रवाहलाई प्रभावकारी बनाउने सम्बन्धमा सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ।

सरकारका कामकारबाहीप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसकै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरिरहेको अवस्थामा यी दुई महत्वपूर्ण बैठक बस्न लागेका हुन्।

यसअघि हिजो (मंगलबार) बिहान पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो। उक्त भेटमा दुई नेताबीच सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *