देश

प्रदेश प्रमुख, मुख्यमन्त्रीहरूद्वारा अमर सहिदहरूप्रति श्रद्धाञ्जली

काठमाडौँ। देशको विकास र जनताका अधिकारका खातिर आफ्नो जीवन उत्सर्ग गरेका अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकका उच्चपदस्थ महानुभावहरूले सहिद दिवसका अवसरमा सन्देश जारी गरेका छन् ।

यसै अवसरमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गरेका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन बलिदान गरेका सहिदका सपना साकार पार्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

यसैगरी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले इतिहासका विभिन्न कालखण्डमा देशका निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारीपूर्वक आ–आफ्नो कर्तव्यपालनमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

त्यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदहरुप्रति सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि सहिदहरूको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुुपर्ने बताउँदै देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।

यसैगरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, जवाफदेहिता र दिगो विकासबिना राष्ट्रिय लक्ष्य हासिल गर्न कठिन हुने बताउँदै विकासको लक्ष्य प्राप्तिका लागि सामूहिक प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका छन् ।

आज जारी गरेको सन्देशमा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *