काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार तीव्र पारेका छन् । निर्वाचन आयोगले १७ दिनको खुला प्रचार गर्न समय तोकेकाले पनि अब १० दिन मात्र बाँकी छ प्रचारप्रसारको अवधि ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्रका साथै विभिन्न सहरमा आयोजित चुनावी सभामा पुुगेर सम्बोधन गरिरहेका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा व्यस्त छन् । एमाले अध्यक्ष केपी ओलीले दार्चुलाबाट चुनावी अभियान सुरु गरेका छन् । उनले एकैदिन तीन जिल्लामा पुगेर भाषण गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट छाडेका छैनन् ।
पछिल्लो चुनावी सभा हेर्दा सबैभन्दा बढी तामझाम एमालेको देखिएको छ । एमालेले चुनावी कमान्डर अध्यक्ष ओलीलाई नै बनाएको छ । त्यही भएर ओली हेलिकोप्टर लिएर जिल्ला जिल्ला पुगेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि ओली चुनावी कमान्डर बनेर खटिएका थिए । तर उनले जहाँ जहाँ पुगेर भाषण गरेका थिए, ती सबै सहरमा एमाले पराजित भएको थियो । अहिले पनि ओली एक्लै दौडिएका छन् । उनले आफूबाहेक अरुलाई प्रचारक बनाएका छैनन् ।
ओलीले जहाँ जहाँ भाषण गर्दै आएका छन्, ती सबैमा एउटै सुगा रटाई छ । एमालेको साढे तीन वर्षे सरकारका पालामा उल्लेखख्य विकास भएको, आफ्नो सरकारलाई ढालेको, त्यसैले फेरि बहुमत चाहियो भन्दै ओली हिँडेका छन् । तर, पाँच वर्षअघिको जस्तो ओली क्रेज अहिले छैन । त्यतिबेला पार्टीइतरका मतदाता र शुभेच्छुक पनि ओलीको प्रशंसा गर्थे ।
तर अहिले उनको क्रेज पार्टीका क्याडरमा मात्र सीमित भएको छ । वाकपटुताका कारण केहीले उनको तारिफ गर्ने गरे पनि संविधान नै च्यातचुत पारेर जंगे शैलीमा सरकार चलाउने गरेको तथा दुई दुईपटक संसद् विघटन गरेकाले ओलीको साख घटेको हो ।तर पनि ओली एमालेले बहुमत ल्याउँछ भन्न छाड्दैनन् ।
०७४ को निर्वाचनमा वाम तालमेलले एउटा जबर्जस्त मनोविज्ञान खडा गरेको थियो र एमालेले राम्रै मत पाएको थियो । त्यसमा पनि एमाले र माओवादीबीच एकता हुन्छ भनेर धेरैले दुवै दललाई मत दिएका थिए । तर, अहिले त्यस्तो छैन । एमाले र माओवादीबीच पानी बाराबार मात्र होइन, एमाले आफैं विभाजित भएको छ । एकीकृत समाजवादीले पनि एमालेको राम्रै मत काट्ने देखिएको छ ।
पार्टीमै ओलीले एकलौटी ढंगले टिकट बाँडेपछि असन्तुष्टि बढेको छ । बागी उम्मेदवारले ओली नै हायलकायल भएका छन् । स्वतन्त्र उम्मेदवारहरूको देशभर बाढी नै उर्लेको छ । यस्तो अवस्थामा कांग्रेस माओवादीको मात्रै भोट बाँडिन्छ कि एमालेको पनि घट्छ भन्ने चासो सबैतिर देखिएको छ । एमाले आफैंले पनि ४० सिटभन्दा बढी नजितिने आकलन गरेको छ ।
यदि सत्तागठबन्धन एकढिक्का भएर गयो र कांग्रेसमा अन्तर्घात नभएमा एमाले ३० भन्दा कम सिटमै सीमित हुने निश्चित छ । एमालेको साइज कांग्रेस मतदातामा निर्भर रहेको छ ।




