देश

टेलिकम सेवा सुधार्न सञ्चारमन्त्रीको निर्देशन, सबै टावरमा भरपर्दो विद्युत् पुर्‍याउन कार्ययोजना बनाउन आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न तथा सम्भव भएसम्म सबै टेलिकम टावरमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बुधबार सञ्चार मन्त्रालयमा आयोजित अन्तरनिकाय छलफलमा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पदाधिकारीसँग मन्त्री तिमिल्सिनाले दूरसञ्चार पूर्वाधारमा विद्युत् आपूर्तिसम्बन्धी समस्या र समाधानका उपायबारे समीक्षा गरेका हुन्।

छलफलमा मन्त्री तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमै सीमित नभई परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिए। उनले नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यदल गठन गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिए।

उनले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिन तथा दुर्गम र ग्रामीण क्षेत्रमा उच्च गतिको इन्टरनेट विस्तार गर्न ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रभावकारी रूपमा परिचालन गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे।

साथै काठमाडौं उपत्यकासहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनका लागि नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र अन्य सम्बन्धित निकायबीच समन्वय बढाउनुपर्नेमा उनले जोड दिए।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हाल ३१६ वटा टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनबाट भरपर्दो विद्युत् उपलब्ध नभएको र ती टावर सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेको जानकारी दिइन्।

उनका अनुसार नेपाल टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको छ, जसमध्ये करिब १,४०० टावरमा नेपाल विद्युत् प्राधिकरणबाट नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने अवस्था छ। सञ्चालनमा रहेका कतिपय टावरमा कम भोल्टेजका कारण उपकरण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै उनले नयाँ साइटमा विद्युत् जडान र पुराना साइटमा विद्युत् आपूर्ति सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइन्।

नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिले टेलिकम टावरमा विद्युत् पहुँच विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा नयाँ टावर र विद्युत् पूर्वाधारको संयुक्त योजना बनाएर अघि बढ्नुपर्ने बताए। उनीहरूले कम भोल्टेजको समस्या समाधान गर्न प्रसारण तथा वितरण प्रणालीको क्षमता विस्तारलाई प्राथमिकतामा राखिने पनि जानकारी दिए।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दुर्गम तथा ग्रामीण क्षेत्रमा लघु जलविद्युत् र सौर्य ऊर्जामार्फत टेलिकम टावरमा विद्युत् उपलब्ध गराउन केन्द्रले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *