देश

मुर्माटपमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, रारा क्षेत्रको पर्यटनमा टेवा पुग्ने अपेक्षा

मुगु । पर्यटकीय जिल्ला मुगुको राराताल नजिक रहेको चर्चित गन्तव्य मुर्माटपमा नेपाल टेलिकमले फोरजी मोबाइल इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले सोमबारदेखि उक्त क्षेत्रमा उच्च गतिको फोरजी सेवाको औपचारिक शुभारम्भ गरेको हो।

रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने मुर्माटप रारातालको मनोरम दृश्यावलोकनका लागि लोकप्रिय गन्तव्य हो। रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थानबाट रारातालसँगै हिमशृङ्खला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका आकर्षक दृश्यहरू अवलोकन गर्न सकिन्छ।

फोरजी सेवा विस्तारसँगै मुर्माटप पुग्ने पर्यटक, पदयात्री र स्थानीय बासिन्दाले सहज सञ्चार सुविधा पाउने भएका छन्। अब पर्यटकहरूले यात्रा अनुभव, तस्बिर र भिडियो तत्कालै सामाजिक सञ्जालमार्फत साझा गर्न तथा प्रत्यक्ष प्रसारण (लाइभ) गर्न सक्नेछन्। यसअघि सञ्चार सुविधाको अभाव झेल्दै आएका पदयात्रीका लागि यो सेवा महत्वपूर्ण हुने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार फोरजी सेवाले रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउनुका साथै स्थानीय होटल, होमस्टे तथा साना व्यवसायीलाई डिजिटल कारोबार र प्रचारप्रसारमा समेत सहजता प्रदान गर्नेछ।

टेलिकमका अनुसार मुर्माटपमा जडान गरिएको टावरले त्यहाँ मात्र सेवा दिने नभई हुम्ला र बाजुरा जस्ता दुर्गम हिमाली जिल्लामा दूरसञ्चार सेवा विस्तारका लागि ‘रिपिटर स्टेशन’ का रूपमा पनि काम गर्नेछ। यसबाट कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा मोबाइल तथा डाटा सेवाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले राराताल क्षेत्रमा २०७६ मंसिर १९ गतेदेखि नै पूर्ण क्षमताको फोरजी सेवा सञ्चालन गर्दै आएको छ। दुर्गम क्षेत्रसम्म सूचना प्रविधिको पहुँच विस्तार गर्दै ‘डिजिटल नेपाल’ अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ मुर्माटपमा सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *