काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष बुझाएका हुन्। सभामुख भण्डारीले बुधबार थापाले राजीनामा पत्र बुझाएको पुष्टि गरेका छन्। तर, राजीनामा भने अहिलेसम्म स्वीकृत नभएको उनले बताएका छन्।
‘उgले हिजो राजीनामा पत्र बुझाउनुभएको छ। तर, स्वीकृत गरिएको छैन। अब के गर्ने भन्ने विषयमा परामर्श गरिरहेको छु,’ सभामुख भण्डारीले सञ्चारमाध्यमसँग भने। बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले राजीनामा दिएको बताइएको छ। यद्यपि, उनको राजीनामाबारे थप विवरण सार्वजनिक भएको छैन।
नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित थापा यसअघि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत बनेका थिए। राजीनामा पत्र बुझाएपछि थापा सम्पर्कविहीन रहेको र उनको मोबाइल फोन स्विच अफ रहेको बताइएको छ। उनको राजीनामा स्वीकृत हुने वा नहुने विषयमा सभामुखको परामर्शपछि मात्रै निर्णय हुने देखिएको छ ।




