काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले घर, झोलुङ्गे पुल, पक्की पुल, विद्युत् पोल, टेलिफोन टावर तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीले विभिन्न बस्तीलाई जोखिममा पारेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बूढीगण्डकी नदीको बहाव थुनिएको थियो । थुनिएको पानी खुलेपछि आइतबार बिहान लेदोसहितको आकस्मिक बाढी आएको प्रारम्भिक विवरण छ ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतका अनुसार बाढीले चुमनुव्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही क्षेत्रमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ । त्यस्तै, धार्चे गाउँपालिका–५ को माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ । धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना र आसपासका सातदेखि आठवटा घरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
पक्की र फलामे पुलसमेत बगायो
बाढीले गोरखा र धादिङ जोड्ने आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित पक्की पुलको गोरखातर्फको एउटा भाग बगाएको छ । तीन भागमा निर्माण गरिएको उक्त पुलको एक भागमा क्षति पुगेको हो । यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल पनि बाढीले बगाएको छ । पुलहरूमा क्षति पुगेपछि स्थानीयवासीको आवागमन प्रभावित भएको छ भने वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । माछिखोलाको तल्लो बस्तीमा समेत बाढी पसेको छ । उक्त क्षेत्रमा २० देखि २२ वटा घर जोखिममा रहेको प्राधिकरणले जनाएको छ ।
जलविद्युत् आयोजना र सञ्चार संरचनामा क्षति
बूढीगण्डकी बाढीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र तथा केही निर्माण उपकरणसमेत बगाएको विवरण प्राप्त भएको छ । बाढीका कारण दुईवटा टेलिफोन टावर र करिब ५० वटा विद्युत् पोलमा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ । यसले प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम बढाएको छ ।
नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
बाढीबाट थप क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले नदी किनार तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । विशेषगरी आइतबार साँझसम्म नदी तटीय क्षेत्रबाट टाढा रहन अनुरोध गरिएको छ ।
प्राधिकरणले जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन अनिवार्य रूपमा पालना गर्नसमेत आग्रह गरेको छ । बाढीबाट भएको क्षतिको विवरण संकलन तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले निगरानी र प्रतिकार्यका काम अघि बढाइरहेका छन् ।






