काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी विभाजन हुनुमा सभापति गगन थापाको राजनीतिक महत्त्वाकाङ्क्षा र विदेशीको इसारा जिम्मेवार रहेको आरोप लगाएका छन्। पार्टी विभाजित हुँदा आगामी सङ्घीय, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई क्षति पुग्ने उनको दाबी छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न सिन्धुपाल्चोकको मेलम्ची पुगेका बस्नेतले पार्टी एकढिक्का रहेको भए आगामी निर्वाचनमा कांग्रेसले राम्रो परिणाम ल्याउन सक्ने बताए।
उनले गगन थापाको नेतृत्वमा पार्टी विभाजित भएको आरोप लगाउँदै भने, ‘गगन थापाजीको महत्त्वाकाङ्क्षाले विदेशीहरूको इसारामा पार्टी दुईटा नबनाइदिएको भए, अब आउने निर्वाचनमा सङ्घीय र प्रदेश चुनाव एक्लै लड्दा पनि जित्ने अवस्था थियो। स्थानीय तहमा पनि हामी कब्जा गर्न सक्थ्यौँ, तर अहिले छिन्नभिन्न भएका छौँ।’ बस्नेतले नेपाल विद्यार्थी सङ्घको पृष्ठभूमिबाट राजनीतिमा आएका गगन थापा, विश्वप्रकाश शर्मा र गुरुराज घिमिरेलगायतका नेताहरूको राजनीतिक पृष्ठभूमिमाथि प्रश्न उठाए। उनले उनीहरूलाई ‘टिके नेता’ को संज्ञा दिँदै चुनाव जितेर आएका नेताहरूको तुलनामा उनीहरूको राजनीतिक आधार कमजोर रहेको टिप्पणी गरे।
‘गगन थापाजी, विश्वप्रकाशजी, गुरुराज घिमिरेजीहरू नेविसंघबाट आएका हुन्। यी नेताहरू प्रायः सबै टिके हुन्। चुनाव कोही जितेको छैन,’ उनले भने। आफूहरू कांग्रेसको कमजोर जनाधार भएका क्षेत्रमा समेत चुनाव जितेर आएको दाबी गर्दै बस्नेतले पार्टीभित्रको नेतृत्व र निर्वाचनबाट प्राप्त जनमतलाई एउटै आधारमा हेर्न नहुने आशय व्यक्त गरे। बस्नेतले विशेष महाधिवेशनको प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। उनले विशेष महाधिवेशनका नाममा नाटक गरेर पार्टी अपहरण गरिएको आरोप लगाउँदै पार्टीभित्रको विवादले सङ्गठनलाई कमजोर बनाएको बताए। उनले काठमाडौंमा जारी महाधिवेशनको प्रक्रिया र नेतृत्व चयनको विषयलाई लिएर पनि कटाक्ष गरे। निर्वाचन हुने भनिए पनि प्रक्रिया कहिले स्थगित हुने हो भन्ने निश्चित नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
उनको टिप्पणी थियो, ‘अहिले उम्मेदवार हेर्नुस्, हिजो पनि चुनाव भएन। आज चुनाव हुने भनेका छन्। कतिखेर स्थगित हुने हो थाहा छैन।’ बस्नेतले कांग्रेसको क्षेत्रीय अधिवेशनका क्रममा मतदाता उपस्थिति र खसेको मतको सङ्ख्यालाई लिएर समेत प्रश्न उठाएका छन्। संस्थापन पक्षको क्षेत्रीय अधिवेशनमा पाँच जना पनि उपस्थित नभएको ठाउँमा ६ सय मत खसालिएको उनको दाबी छ। उनले जिल्लामा आफूले अवसर दिएका कतिपय नेताहरूले समेत साथ छाडेको गुनासो गरे। कांग्रेसभित्र नेतृत्व, विशेष महाधिवेशन र सङ्गठन सञ्चालनको विषयलाई लिएर विवाद चर्किरहेका बेला बस्नेतको अभिव्यक्ति सार्वजनिक भएको हो। उनले पार्टी विभाजनले आगामी निर्वाचनमा पार्ने असरबारे चिन्ता व्यक्त गरे पनि विदेशीको इसारामा पार्टी विभाजन गरिएको भन्ने आरोपको पुष्टि गर्ने प्रमाण भने आफ्नो अभिव्यक्तिमा प्रस्तुत गरेका छैनन्।




