देश

आकांक्षी व्यवस्थापन गर्न कांग्रेसमा पदाधिकारी थपिँदै

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गरी पार्टीका पदाधिकारीको संख्या बढाउने भएको छ । पदाधिकारी संख्या बढाउने विषयमा नेताहरूबीच सहमति बनेको हो ।

हाल कांग्रेसको पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

अब पदाधिकारी संख्या १७ बाट बढाएर २१ पुर्‍याउने तयारी गरिएको छ । जसअनुसार उपसभापतिमा दुई जना र सहमहामन्त्रीमा दुई जना थप गर्ने सहमति बनेको छ । पदाधिकारीका आकांक्षीहरूको संख्या बढ्दै गएपछि उनीहरूको व्यवस्थापन गर्न पदाधिकारी संख्या बढाउन लागिएको बताइएको छ ।

संशोधित व्यवस्थाअनुसार एक वरिष्ठसहित चार जना उपसभापति हुनेछन् । चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गर्न लागिएको छ ।

त्यस्तै, ११ जना सहमहामन्त्री निर्वाचित भएर आउनेछन् भने दुई जना सहमहामन्त्री सभापतिले केन्द्रीय सदस्यहरूमध्येबाट मनोनीत गर्ने व्यवस्था गरिने भएको छ । यसअघि विशेष महाधिवेशनबाट पारित विधानमा आठ जना सहमहामन्त्री निर्वाचित हुने र तीन जना सभापतिले मनोनीत गर्ने व्यवस्था थियो ।

यसैबीच, महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *