काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले यस्तो कदम सरकारका लागि घातक हुने चेतावनी दिएका हुन् । सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ नियत राखेको हो भने त्यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ । यस्ता घटना नदोहोर्याउन म सरकारलाई आग्रह गर्दछु ।’
पूर्वप्रधानन्यायाधीशलाई साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाउनुपर्ने प्रचण्डले बताए ।
‘सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने । सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिनुपर्यो नि,’ उनले भने ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले बोल्नुपर्ने विषय र लाइनमै धारणा राखेको भन्दै प्रचण्डले त्यसलाई स्वाभाविक भएको प्रतिक्रिया दिए ।




