देश

राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग

काठमाडौँ। राष्ट्रियसभाका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले जबरालाई नियन्त्रणमा लिनुको कारण, कानुनी आधार र सरकारको धारणा संसद्मार्फत स्पष्ट गर्न सभाध्यक्षमार्फत माग गरेका हुन् ।

सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरे । सांसद महन्थ ठाकुर र रामकुमारी झाँक्रीले जबराको गिरफ्तारीप्रति विरोध जनाउँदै यसबारे गृहमन्त्रीले सदनमार्फत स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।

पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते राति काठमाडौँको महाराजगञ्जस्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिनुको कारण तत्काल सार्वजनिक नगरेको भन्दै सांसदहरूले सोधपुछपछि जबरालाई घरमै सुरक्षा दिनेगरी छाडिएको सार्वजनिक विवरणबारे समेत सरकारसँग जानकारी माग गरेका हुन् ।

बैठकमा सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।

सांसद धमेन्द्र पासवानले रौतहटमा होचो बाँधका कारण समस्या हुने गरेको भन्दै अग्लो तटबन्ध निर्माण गर्न सरकारसँग माग गरे । सांसद मीना सिंह रखालले कर्णालीका सडक जोखिमपूर्ण रहेकाले दुर्घटना न्यूनीकरणका लागि सडक तथा पुल निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै, सांसद रेखाकुमारी झाले वर्षायाममा हुने बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण गर्दै प्रभावित नागरिकका लागि सुरक्षित बासस्थान र पुनःस्थापनाको व्यवस्था गर्न माग गरिन् ।

सांसद रोशनी मेचेले मोबाइल बैंकिङलाई सुरक्षित बनाउन तथा बैंकिङ प्रणालीमार्फत नागरिकको सम्पत्तिको सुरक्षाप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सम्झना देवकोटाले गोरखामा प्राकृतिक विपद्सँगै हिमपातका कारण पर्यटकले सास्ती खेप्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद सोमनाथ पोर्तेलले झापामा जङ्गली हात्तीका कारण किसानको धानबालीमा वर्षेनि क्षति भइरहेको भन्दै पर्याप्त क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

राष्ट्रियसभाको बैठक जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *