देश

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली विकसित भएको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ।

हाल देशका विभिन्न भूभागमा बदली रहेको छ। कोशी र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली तथा मधेस प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार हिमाली र पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।

त्यसैगरी, मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *