विगतमा स्वास्थ्य विज्ञहरुले नै शरीरमा अल्कोहलको मात्रलाईसही ठाउँमा राख्नका लागि दुई प्याकसम्म पिउन मिल्ने न्यारेटिभ बनाएका थिए । तर पछि समय बित्दै जाँदा मदिरा सेवनबाट उत्पन्न समस्यालाई ध्यानमा राखेर विज्ञहरुले नै मदिरा सेवन घातक भन्दै आएका छन् । हाम्रो नेपाली समाजमा रक्सी पिउनुलाई कतिपयले मनोरञ्जन, साथीभाइसँगको जमघट वा तनाव घटाउने सामान्य माध्यमका रूपमा लिन्छन् भने ‘थोरै त , ‘कहिलेकाहीँ पिउँदा के हुन्छ र ?’ जस्ता तर्क गर्ने गरेका छन् । तर समस्या त्यतिबेला सुरु हुन्छ, जब ‘कहिलेकाहीँ’ बिस्तारै ‘सधैँ’मा बदलिन्छ र रक्सी जीवनशैलीको अनिवार्य हिस्सा बन्न पुग्छ।
रक्सीले तत्काल ठूलो समस्या नदेखाए पनि नियमित र अत्यधिक सेवनले शरीरका महत्वपूर्ण अंगमा क्रमशः क्षति पुर्याउनुका साथै विशेषगरी कलेजो, मुटु, मस्तिष्क र पाचन प्रणालीमा यसको गम्भीर हानी नोक्सानी गर्न सक्छ । स्वास्थ्य विज्ञहरुले पनि सोही कुरालाई परिभाषा दिने गरेका छन् । लामो समयसम्म अत्यधिक मदिरा सेवन गर्ने मानिसमा विभिन्न दीर्घरोगको जोखिम बढ्नुका साथै मानसिक स्वास्थ्य र पारिवारिक जीवनसमेत गम्भिर असर पार्न सक्छ ।
सबैभन्दा चिन्ताको विषय भनेको रक्सीको असर शरीरमा मात्र सीमित हुँदैन। यसको प्रभाव परिवार, समाज र आर्थिक अवस्थासम्म पुग्छ। रक्सी सेवनकै कारण हुने झगडा, घरेलु हिंसा, सडक दुर्घटना, कार्यक्षमतामा कमी र आर्थिक संकटका घटनाहरू हाम्रो समाजमा नयाँ होइनन्। कतिपय मानिस दुःख, तनाव वा निराशाबाट उम्कन रक्सीको सहारा लिने गरेको अनुभव सुनाउँछन् । तर रक्सी समस्याको समाधान होइन। बरु यसले समस्या थप जटिल बनाउन लैजान्छ । केही समयका लागि तनाव कम भएको अनुभूति भए पनि नियमित सेवनले मानिसलाई अन्ततः रक्सी नखाई सामान्य सन्तुलित रुपमा उभिनै नसक्ने स्थितिमा पु¥याउँछ ।
त्यसैले रक्सीबारे हाम्रो सोचमै परिवर्तन आवश्यक छ। ‘रक्सी नखानु भनेको कमजोर हुनु हो’ भन्ने सामाजिक मानसिकता त्याग्नुपर्छ। आफ्नो स्वास्थ्य र परिवारको भविष्यलाई प्राथमिकता दिन सक्नु नै वास्तविक साहस हो। सुन्दर भविष्य हो । रक्सि पिएर सकिने लाखौँ रुपैँया कुनै क्षेत्रमा लगानी लाउन सके दुःखबाट चाडैँ मुक्ति पाइन्छ । सो विषय संसारभरका मोटिभेसनल भाषणकर्ताहरु र विज्ञहरुले समेत नकार्न सकेका छैनन् । रक्सी सेवन गर्ने व्यक्तिलाई गाली वा अपमान गरेर मात्र समाधान निस्कँदैन। परिवार र समाजले समस्या पहिचान गरी आवश्यक परे स्वास्थ्यकर्मी तथा परामर्श सेवाको सहयोग लिन प्रोत्साहित गर्नुपर्छ। रक्सीको निर्भरता एउटा स्वास्थ्यसम्बन्धी समस्या बन्न सक्छ, त्यसैले सहयोग र उपचारको बाटो खुला राख्नुपर्छ।
रक्सीले मेरो जीवनमा के थपिरहेको छ र के खोसिरहेको छ रु हामीले यो प्रश्नलाई गम्भिरताका साथ मनन् गर्न आवश्यक छ । स्वास्थ्य, पैसा, परिवारको विश्वास, सामाजिक प्रतिष्ठा र भविष्य गुमाएर केही घण्टाको नशा प्राप्त गर्नु कुनै उपलब्धि होइन। जीवन अमूल्य छ। त्यसैले ‘आज मात्र’, ‘थोरै मात्र’ भन्दै निरन्तर रक्सी सेवन गर्ने बानीलाई समयमै रोक्नु बुद्धिमानी हुन्छ। भोलीबाट रक्सी नपिउने बाचा आजैबाट कार्यान्वयनमा ल्याउने अभ्यास गर्न आवश्यक छ । भोली–भोली भन्दा भन्दै एकै दिनमा मदिरामा लाखौँ पैसा सकिएर करोडपतिबाट सडकमा पुगेका मासिनहरुको कथा हामिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देख्छौँ ।
रक्सी खान छोड्नु स्वास्थ्यप्रतिको जिम्मेवारी हो। सबैभन्दा सुरक्षित विकल्प हो। आजै निर्णय गरौँ—सधैँ रक्सी नपिऔँ, स्वस्थ जीवन रोजौँ।




