काठमाडौं । प्राकृतिक विपति कति बेला आउँछ थाहै हुँदैन्,कतिको क्षति हुन्छ र समाज र विकासमा कस्तो असर पर्छ भन्ने विपतअघि कसैलाई पनि थाहा हुँदैन् । नेपाल लगायत विश्वका कुनै पनि देशले केहि दिनअघि आएको बाढीले नेपालमा यस्तो क्षेति गर्छ भनेर सोचेकै थिएनन् होला । तर गत भदौ १० गते बिहान भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आयो । सम्पूर्ण नेपाली लगायत विश्वका देशको नै सो प्रकोपले ध्यान खिच्यो । भिषण बाढी आएको केही घण्टामै बस्ती, सडक, पुल र जलविद्युत् संरचनामा अकल्पनीय क्षति पुर्यायो । नदीको उर्लंदो भेलसँगै आएको बाढीले रसुवादेखि नुवाकोट, धादिङ, चितवन हुँदै अन्य जिल्लासम्म क्षेति पु¥यायो । हजारौँ मानिसको जनजीवन प्रभावित भयो । बाढीले भौतिक क्षेति मात्र गरेन्,अकल्पनीय मानवीय क्षेति समेत गर्यो । सो घटनाले नेपाल गहिरो शोखमा डुबेको छ ।
बाढीले भौतिक संरचना मात्र बगाएन, कैयौँ परिवारका सदस्यलाई एकअर्काबाट टाढा बनायो । घर–बस्ती र सम्पर्क सञ्जाल नै ध्वस्त भएपछि कतिपय परिवारहरु अझै आफन्तको खोजीमा छन् । पीडित परिवारको घरमा बती निभेको छ भने कतिपय अझै आफ्ना सम्पर्कविहीन भएका व्यक्तिहरु पत्ता लाग्ने अपेक्षामा छन् । सरकारले पनि बाढीबाट प्रभावितहरुलाई उद्धार राहत,खोजीकार्य गरिरहेको छ भने जोखिमयुक्त ठाउँमा बसोबास गर्नेलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिरहेको छ ।
राज्यले नागरिकको सुरक्षाका लागि सम्पूर्ण संयन्त्र परिचालन गरेको छ । कतिपय ठाउँमा नागरिकहरुको उद्धार कार्य भइरहेको छ भने कतिपय जोखिमयुक्त ठाउँमा स्थानीयहरुले आफूहरुलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । उद्धार टोली भने जोखिमबीच प्रभावित क्षेत्रमा पुगेर जीवितको उद्धार र बेपत्ताको खोजीमा जुटिरहेको छ । देशदेखि विदेशसम्म छरिएर रहेका सम्पूर्ण नेपालीहरुले प्रधानमन्त्री उद्धार तथा विपत कोषमा सकेको सहयोग रकम जम्मा गरेर सहयोग गरिरहेका छन् । सोमबारसम्म प्रधानमन्त्री उद्धार तथा विपत कोषमा करिब पाँच अर्बभन्दा बढी रकम संकलन भइसकेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म बाढी प्रभावित क्षेत्रबाट १० हजार ४५१ जनाको उद्धार गरिएको जनाएको छ । प्राधिकरणका अनुसार उद्धार गरिएकामध्ये नेपाली नागरिकसँगै विदेशी नागरिक समेत छन् ।
नेपाली सेनाले मात्रै तीन हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको हवाई उद्धार गरेको छ । भदौ १४ गते हाइड्रोपावर क्षेत्रबाट १५ चिनियाँ र सात भारतीय नागरिकलाई समेत उद्धार गरिएको थियो । उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान भइसकेका छन् । सडक तथा पुलको ठूलो हिस्सा बाढीले बगाएका कारण कतिपय स्थानमा स्थलमार्गबाट पुग्न कठिन भएपछि हेलिकोप्टर उद्धार प्रमुख माध्यम बनेको छ ।
तर उद्धारको ठूलो अभियानले समेत सबैलाई समेट्न नसकेको नागरिकहरुका गुनासाहरु सामाजिक संजार र सञ्चारमाध्यमहरु सार्वजनिक भइरहेका छन् । बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन छन् । यो तथ्याङबाट नेपालमा भोटेकोशीमा आएको बाढीले ठूलो प्रकोप निम्त्याएको विश्लेषण भइरहेको छ ।
बेपत्ताको खोजी र उद्धारका लागि सुरक्षा निकायको ठूलो जनशक्ति परिचालन गरिएको छ । प्राकृतिक प्रकोप बाढीबाट प्रभावित भएकाहरुको उद्धार तथा खोजी कार्य तीन तहका सुरक्षा निकाय परिचालित भएका छन् । उनीहरुले आँधीहुरी,हिलो,बाढी केही नभनि विपतमा परेका नागरिकहरुको खोजी कार्यलाई तीव्र बनाइरहेका छन् । यो कठिन समयमा नागरिकको जिउ धनको रक्षामा खटिने तीनै तहका सुरक्षा निकायहरुको प्रशंसा भइरहेको छ । प्राधिकरणका अनुसार नेपाल प्रहरीका सात हजार ८९४, नेपाली सेनाका आठ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ गरी २० हजार ८१९ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् । उनीहरूको मुख्य जिम्मेवारी जीवितको उद्धार, शवको खोजी तथा व्यवस्थापन, जोखिमयुक्त क्षेत्रमा फसेकाको उद्धार र प्रभावित बस्तीमा राहत पुर्याउनु नै हो ।
उद्धारसँगै प्रभावित नागरिकका लागि खाद्यान्न, औषधि, स्वास्थ्य सामग्री तथा गैरखाद्य सामग्री पठाउने काम पनि जारी छ । तर, सडक र पुलको ठूलो क्षतिका कारण राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउनु आफैँमा अर्को चुनौती बनेको उनीहरुको भनाइ छ । भोटेकोशी बाढीले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकलाई समेत प्रभावित बनाएको छ । मन्त्रालयका अनुसार विभिन्न ३९ देशका करिब ५९० विदेशी नागरिक बाढीका कारण अझै सम्पर्कविहीन छन् । विदेशी नागरिकको खोजी तथा उनीहरूका सम्बन्धित मुलुकसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयमा आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरिएको छ ।
भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका १८ जना फरेन्सिक विशेषज्ञ नेपाल आएर काम गरिरहेका छन् । सिङ्गापुरबाट ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली परिचालन गर्नसमेत समन्वय परराष्ट मन्त्रालयले जनाएको छ । यस्तै शव व्यवस्थापनलाई व्यवस्थित बनाउन एयरटाइट ब्यागलगायतका सामग्री पनि प्राप्त भएका छन् । यसले मृतकको पहिचान र परिवारसम्म शव पुर्याउने प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
नेपाल शोकमा डुबेको बेला छिमेकीदेखि अन्तर्राष्ट्रिय समुदायसम्मको साथ
विपद्को यो कठिन घडीमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग समेत आवश्यक सहयोगको पहल गरेको । । भारत र चीनबाट सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोली प्रभावित क्षेत्रमा परिचालन भएका छन् । कोरिया गणतन्त्रबाट पनि उद्धारसम्बन्धी टोली परिचालन गरिएको छ । भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, कोरिया गणतन्त्रलगायत मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबाट उद्धार र राहत सामग्री प्राप्त भएको सरकारले जनाएको छ ।
प्राप्त सहयोगमा पुलका एकाइ, फ्रिजर, जेनेरेटर, सौर्य बत्ती, डीएनए परीक्षण किट, आपत्कालीन उद्धार उपकरण, पाल, कम्बल, स्लीपिङ ब्याग, खाद्य सामग्री र औषधि छन् । अमेरिकासँग थप फ्रिजर, डीएनए परीक्षण किट, लाइडरलगायत गैरखाद्य सामग्री तथा सेवाका लागि अनुरोध गरिएको छ । चीन र सिङ्गापुरसँग बेलीब्रिज तथा उच्च क्षमताका ड्रोन उपलब्ध गराउन समेत सरकारले आग्रह गरेको छ । यसले बाढी व्यवस्थापन अब केवल तत्काल उद्धारको विषय नभई बहुआयामिक राष्ट्रिय संकटका रूपमा अगाडि बढेको देखाएको छ । भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले मानव जीवनसँगै देशको महत्वपूर्ण यातायात पूर्वाधारमा समेत अतुलनीय ठूलो क्षति पुर्याएको छ ।
सडक विभागको प्रारम्भिक मूल्याङ्कनअनुसार सडक र पुलमा मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । सडकतर्फ करिब १० अर्ब र पुलतर्फ पनि करिब १० अर्ब रुपैयाँको क्षति भएको विभागको प्रारम्भिक आँकलन छ । स्थलगत प्राविधिक विवरणअनुसार ४० किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त भएको छ । भोटेकोशी तथा त्रिशूली नदीमा रहेका ४१ प्रमुख पुलमध्ये ३२ वटा पूर्ण रूपमा बगेका छन् । तीनवटा पुलमा क्षति पुगेको छ भने केवल छवटा पुल सुरक्षित रहेका छन् ।
बाढीले नेपाल–चीन सीमा जोड्ने रणनीतिक महत्त्वको रसुवागढीस्थित मितेरी पुल समेत बगाएको छ । टिमुरेका बेलिब्रिज, चिलिमे र स्याफ्रुबेँसीका पुल, मैलुङ तथा हाकु क्षेत्रका जलविद्युत् आयोजनाका पुलसमेत क्षतिग्रस्त भएका समाचारहरु संचारमाध्यमहरुमा सार्वजनिक भएका छन् ।
नुवाकोट–रसुवा सीमामा पर्ने बेत्रावतीका पुराना तथा नयाँ पुल, तुप्चे, त्रिशूली बजार, देवीघाट, श्रीखली, बुद्धसिंहघाट र रातमाटेलगायतका पुल पनि बाढीको चपेटामा परेका छन् । धादिङतर्फ झरेबगैँचा, घाटबेँसी र फुर्केखोलाका पुल बगेका छन् । कोल्पुखोलाका दुई पुल तथा मास्टर धादिङको पुलमा आंशिक क्षति पुगेको छ । मुग्लिङ आर्च ब्रिज, फिस्लिङ र बेनिघाटलगायत छवटा पुल भने जोगिएका छन् । विपद्पछि सडक विभागको प्राथमिकता क्षतिको कागजी मूल्याङ्कनभन्दा पनि तत्काल सडक सम्पर्क स्थापित गर्नु रहेको छ । राजधानी र मुख्य राजमार्ग हुँदै रसुवासँग सम्पर्क पुनःस्थापित गर्न बेत्रावती सडक खण्ड सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
तर, ठाउँ–ठाउँमा सडक नै नदीले बगाएको र कतिपय स्थानमा पहाड कटान भएका कारण काम सहज छैन । तत्काल डाइभर्सन, ह्युमपाइप र बेलिब्रिज प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी भए पनि यी सबै अस्थायी उपाय मात्र हुन् । बाढीका कारण रसुवागढी जोड्ने मितेरी पुलसहित सडक तथा पुल संरचना ध्वस्त भएपछि नेपाल–चीनबीचको महत्वपूर्ण व्यापारिक आवागमन समेत प्रभावित भएको छ । यातायात सम्पर्क विच्छेद हुँदा स्थानीय बस्तीमा खाद्यान्न, औषधि तथा दैनिक उपभोग्य वस्तु पुर्याउन समस्या भएको छ । जलविद्युत् आयोजना, पर्यटकीय क्षेत्र र सीमावर्ती बस्तीसमेत यसको प्रत्यक्ष प्रभावमा परेका छन् ।
बाढीपछि तत्कालीन आवश्यकता उद्धार र राहत भए पनि अब अर्को ठूलो प्रश्न पुनःस्थापनाको हो । सडक, पुल, घर, विद्युत् तथा जलविद्युत् संरचना पुनःनिर्माण गर्न ठूलो आर्थिक स्रोत आवश्यक पर्ने देखिन्छ । सरकारले कसरी भौतिक पूर्वाधारका लागि आवश्यक खर्च जुटाउला ? बाढीले पुर्याएको क्षति अझै पूर्ण रूपमा यकिन भइसकेको छैन । सरकारले प्रारम्भिक आवश्यकता मूल्याङ्कन गरिरहेको छ । घर, सडक, पुल र जलविद्युत् आयोजनाजस्ता संरचनामा व्यापक क्षति पुगेकाले पुनःस्थापना र पुनःनिर्माण लामो प्रक्रिया बन्ने निश्चितप्रायः छ ।
सडक विभागले स्थायी पुनर्निर्माण सम्पन्न गर्न वर्षौँ लाग्न सक्ने र लागत साविकको भन्दा निकै बढी हुन सक्ने अनुमान गरेको छ । त्यसैले तत्काल राहतपछि दीर्घकालीन पुनर्निर्माणका लागि स्पष्ट योजना, पर्याप्त बजेट र अन्तर्राष्ट्रिय सहयोग आवश्यक देखिन्छ । अहिले हेलिकोप्टरहरू प्रभावित क्षेत्रमाथि उडिरहेका छन् । सुरक्षाकर्मीहरू नदी किनार, पहिरो र भग्नावशेषमा हराइरहेका मानिसको खोजीमा छन् । स्वास्थ्यकर्मीहरू घाइते तथा प्रभावितको उपचारमा जुटेका छन् । स्वयंसेवकहरू राहत सामग्री बोकेर प्रभावित बस्ती पुगिरहेका छन् ।
तर, हजारौँ परिवारका लागि संकट अझै सकिएको छैन ।
१० हजार ४५१ जनाको उद्धार हुनु आशाको संकेत हो, तर ४ हजार २४७ जना अझै सम्पर्कविहीन हुनु भोटेकोशी बाढीको पीडा अझै कति गहिरो छ भन्ने कठोर परिदृष्य स्मरण गराएको छ । सामाजिक संजालमा सार्वजनिक पोष्टहरु र दुःखका वेदनाहरु हेर्दा,पढ्दा र सुन्दा सबैको मनमा आँशु झर्न सुरु गर्छन् ।
अबको सरकारलाई चुनौती अझै बढी छ । बाढीबाट मानिसलाई सुरक्षित निकाल्नु मात्रै नभएर , बाढीबाट प्रभावित जीवन, सडक, पुल, बस्ती र अर्थतन्त्रलाई फेरि सोही ठाउँमा उभ्याउनु रहेको छ । त्यसका लागि तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना, जोखिम न्यूनीकरण र भविष्यमा यस्ता विपद्ब आउन नदिन र क्षति कम गर्ने पूर्वतयारीलाई राष्ट्रिय प्राथमिकताको एजेण्डा बनाउनुपर्ने आवश्यकता पनि उतिकै जाहेज विषय बनेको छ ।




