देश

लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्री लिए गोपनीयताको शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई शपथ गराएका हुन्।

नवनियुक्त तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हुन्। दीपेन्द्रकुमार पुनले स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूले आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यसमेत सहभागी थिए।

नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता सहकार्यको प्रक्रिया अघि बढेको थियो। सोही राजनीतिक समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको जनाइएको छ।

मन्त्रिपरिषद्का अन्य सदस्यको जिम्मेवारीसमेत हेरफेर र व्यवस्थापनको तयारी गरिएको छ। तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।

यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सार्ने प्रस्ताव गरिएको छ भने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयमा पठाउने तयारी गरिएको छ।

यस्तै, सामाजिक विकास मन्त्रालय सम्हालिरहेका पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव छ। नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने सहमति भएको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *