खेलकुद

बेल्जियमको रोमाञ्चक पुनरागमन, सेनेगललाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौं । दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ।

जितसँगै बेल्जियमले अन्तिम १६ मा अमेरिका वा बोस्निया–हर्जेगोभिनामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा बेल्जियम २–० ले पछि थियो। त्यसपछि दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले थोमस म्युनियरको क्रसलाई हल्का स्पर्श गर्दै गोल गरेपछि बेल्जियमले पुनरागमनको सुरुआत गरेको थियो।

८९औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डको क्रसमा सेनेगलका गोलरक्षक मोरी डियाव बल नियन्त्रण गर्न चुकेपछि कप्तान युरी टिलेमान्सले हेडमार्फत बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याए।

यसअघि हाबिब दियार्रा र इस्माइला सारको गोलमा सेनेगलले २–० को अग्रता बनाएको थियो।

अतिरिक्त समयको १२५औँ मिनेटमा बेल्जियमले पेनाल्टी पायो। दोडी लुकेबाकियोको प्रहार क्रसबारमा लागेर फर्किएपछि भएको अर्को आक्रमणमा लामिन कामाराले टिलेमान्सलाई फल गरेपछि भिडियो सहायक रेफ्री (VAR) ले करिब सात मिनेट समीक्षा गरेर पेनाल्टी दिएको थियो।

टिलेमान्सले पेनाल्टीलाई जालीको माथिल्लो कुनामा प्रहार गर्दै बेल्जियमलाई ३–२ को अविस्मरणीय जित दिलाए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *