काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण समाप्तिसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गर्दै गोलकर्ताको सूचीमा स्पष्ट अग्रता बनाएका छन्। समूह चरणका तीन खेलमा ६ गोल गरेका उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई अझ मजबुत बनाएका छन्।
उत्तर अमेरिका ९अमेरिका, क्यानडा र मेक्सिको० मा जारी विश्वकपको समूह चरण सोमबार सकिएको हो। यस चरणमा मेसीसहित क्यानडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले ह्याट्रिक गर्दै विशेष उपलब्धि हासिल गरेका छन्।
मेसीले प्रतियोगिताको पहिलो खेलमा अल्जेरियाविरुद्ध तीन गोल गर्दै विश्वकप अभियानको उत्कृष्ट सुरुआत गरेका थिए। सोही खेलसँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए।
त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल थप्दै मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। समूह चरणको अन्तिम खेलमा जोर्डनविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले अर्को गोल थप्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन्।
यो गोलसँगै मेसीले अर्को दुर्लभ कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। उनी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। सन् २०२२ विश्वकपको अन्तिम चार खेलदेखि सुरु भएको उनको गोल गर्ने शृंखला २०२६ को समूह चरणका तीनवटै खेलसम्म आइपुगेको हो।
समूह चरणमा ६ गोल गरेका मेसी हाल गोलकर्ताको सूचीमा एक्लै शीर्ष स्थानमा छन्। यससँगै उनी गोल्डेन बुटका सबैभन्दा बलिया दाबेदारका रूपमा समेत देखिएका छन्। यसअघि दुई पटक विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जितेका मेसीले भने अहिलेसम्म गोल्डेन बुट हात पार्न सकेका छैनन्।
यता, समूह चरणमा क्यानडाका जोनाथान डेभिडले कतारविरुद्ध तथा फ्रान्सका उसमान डेम्बेलेले नर्वेविरुद्ध ह्याट्रिक गर्दै आफ्नो प्रभावशाली प्रदर्शन दर्ज गराएका छन्। नकआउट चरण सुरु भएसँगै गोलकर्ताको प्रतिस्पर्धा अझ रोचक बन्ने अपेक्षा गरिएको छ।




