राजनीति

प्रधानमन्त्री बालेन शाह रणबहादुर शाहको शैलीमा !

काठमाडौं । नयाँ पुस्ताको आशा, परिवर्तनको प्रतीक र पुराना राजनीतिक दलप्रतिको असन्तुष्टिको परिणामस्वरूप उदाएका प्रधानमन्त्री बालेन्द्र शाह अहिले प्रशंसा र आलोचना दुवैको केन्द्रमा पुगेका छन् । सरकार गठनको छोटो अवधिमै उनले देखाएको कार्यशैलीले समर्थकलाई उत्साहित बनाएको छ भने आलोचकहरूलाई भने इतिहासका केही विवादास्पद शासकहरूको सम्झना गराउन थालेको छ । राजनीतिक वृत्तमा अहिले एउटा प्रश्न गहिरिँदै गएको छ—बालेन शाह लोकतान्त्रिक सुधारकको बाटोमा छन् कि शक्तिकेन्द्रित शासनशैलीतर्फ उन्मुख हुँदैछन् ?

प्रधानमन्त्री बालेन शाहप्रति जनताको अपेक्षा असाधारण थियो । काठमाडौं महानगरपालिकाको नेतृत्वमा हुँदा उनले देखाएको आक्रामक कार्यशैली, भ्रष्टाचारविरुद्धको कठोर छवि र प्रशासनिक दृढताले उनलाई वैकल्पिक राजनीतिका प्रतीकका रूपमा स्थापित गराएको थियो । यही छविको बलमा राष्ट्रिय राजनीतिमा उदाएका बालेनलाई धेरैले पुराना राजनीतिक संस्कार तोड्ने नेताका रूपमा हेरे । तर, सत्ता सम्हालेपछि उनको शैलीमाथि प्रश्न उठ्न थालेको छ । सरकार सञ्चालनमा बढ्दो गोपनीयता, संसद्प्रति कमजोर संवाद, सार्वजनिक मञ्चमा कम उपस्थिति र प्रशासनिक शक्ति प्रयोगमा देखिएको कठोरताले उनी लोकतान्त्रिक अभ्यासभन्दा नियन्त्रणमुखी शैलीतर्फ गइरहेको टिप्पणी हुन थालेको छ ।

विशेषगरी सुकुमबासी बस्ती हटाउने अभियानलाई सरकारले जसरी अघि बढायो, त्यसले सामाजिक न्याय र मानवीय संवेदनामाथि प्रश्न खडा गर्‍यो । विकास र व्यवस्थापनका नाममा राज्य संयन्त्र प्रयोग गर्ने शैलीलाई कतिपयले “जङ्गे पारा”को संज्ञा दिएका छन् । निर्णय प्रक्रियामा संवादभन्दा आदेशमुखी प्रवृत्ति हाबी भएको आरोपसमेत लागिरहेको छ । यसबीच संसद्मा प्रधानमन्त्री शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिले नयाँ विवाद जन्माएको छ । नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको आशय व्यक्त गरेपछि उनको भनाइमाथि राजनीतिक र कूटनीतिक वृत्तमा तीव्र प्रतिक्रिया आएको छ । कतिपयले यसलाई अपरिपक्व अभिव्यक्ति भनेका छन् भने केहीले भारतसँग सम्बन्ध सुधार्ने संकेतका रूपमा व्याख्या गरेका छन् ।

प्रधानमन्त्री शाहमाथि अर्को ठूलो आरोप भनेको “मौन शासन” हो । सरकारको मुख्य नेतृत्वमा रहे पनि उनी सार्वजनिक बहस, सञ्चारमाध्यम र प्रत्यक्ष संवादबाट टाढा देखिन्छन् । परिणामतः उनका निकटवर्ती व्यक्तिहरू प्रभावशाली बन्दै गएको र निर्णय प्रक्रियामा अनौपचारिक शक्ति केन्द्र हाबी हुन थालेको चर्चा सिंहदरबारभित्रै सुनिन थालेको छ । इतिहासले देखाएको छ-जनसमर्थन जति ठूलो भए पनि लोकतान्त्रिक मूल्य कमजोर हुँदा लोकप्रियता लामो समय टिक्दैन । नेपालकै इतिहासमा शक्तिशाली शासकहरू अन्ततः जनअसन्तुष्टि र असन्तुलित शासनशैलीकै कारण विवादमा परेका उदाहरण प्रशस्तै छन् ।

बालेन शाह अझै पनि जनताको ठूलो हिस्साका लागि आशाका पात्र हुन् । धेरै नेपालीले उनीबाट राजनीतिक संस्कार परिवर्तन, सुशासन र नयाँ दिशाको अपेक्षा गरिरहेका छन् । तर, त्यो विश्वास कायम राख्न लोकतान्त्रिक आचरण, पारदर्शिता र संवाद अपरिहार्य हुन्छ । यदि प्रधानमन्त्री शाह साँच्चिकै वैकल्पिक राजनीतिक संस्कृतिको नेतृत्व गर्न चाहन्छन् भने आलोचना सुन्ने क्षमता, स्वतन्त्र प्रेससँगको सहकार्य र जनतासँग प्रत्यक्ष संवादबाट टाढा रहने शैली त्याग्नुपर्ने देखिन्छ । अन्यथा, परिवर्तनको प्रतीक बनेर उदाएका नेता इतिहासका विवादास्पद शासकहरूसँग तुलना हुने जोखिमबाट बच्न कठिन हुनेछ ।

नेपालको इतिहासमा राजा रणबहादुर शाहलाई सनकी महाराजु वा सनकी राजा को रूपमा चिनिन्छ। उनी नेपालको शाहवंशका तेस्रो राजा हुन्, जो आफ्ना पिता राजा प्रतापसिंह शाहको अल्पायुमै निधन भएपछि वि.सं. १८४४ मा मात्र साढे दुई वर्षको उमेरमा राजा बनेका थिए।इतिहासकारहरूले उनलाई अदूरदर्शी, क्रोधी, हतार गर्ने स्वभावका र अत्यन्तै सनकी शासकका रूपमा चित्रण गरेका छन्। प्रधानमन्त्री बालेन शाह पनि सोही स्वभावमा देखिन्छन् । कसैको कुरा नसुन्ने र अरुलाई निर्देशनमा राख्ने स्वभावका कारण अहिले चर्को आलोचनाको केन्द्रमा परेका छन् । बालेन आफूलाई मन नपरेका विपक्षीहरुविरुद्ध दण्डित गर्ने विचारका साथ विभिन्न आइडियार नीति बनाउँदैछन् । सो कुरा प्रतिपक्षदलरुलाई मन परेको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *