देश

रविसँग भारतीय प्रधानमन्त्री मोदीले भने-नयाँ सरकारसँग सहकार्य गर्न तयार छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध र समकालीन नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सार्वजनिक भएको सन्देशलाई कूटनीतिक र राजनीतिक दुवै दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको भेटप्रति खुशी व्यक्त गर्दै साझा समृद्धि र सहकार्यको प्रतिबद्धता जनाएका छन् । उनले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत प्राथमिक साझेदारको रूपमा उल्लेख गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको बताएका छन् ।

मोदीले “साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने इच्छालाई स्वागत गर्दछु” भन्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने संकेत दिएका हुन् ।भारत भ्रमणका क्रममा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलकाे मंगलबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि नयाँदिल्लीमा भेटवार्ता गरेको थियो । भेटमा दुई देशबीचको विकास साझेदारी, जनस्तरको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । जयशंकरले पनि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लामिछाने र उनको टोलीसँग भेट गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

यसअघि लामिछाने नेतृत्वको टोलीले भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा अध्यक्ष नितिन नवीन तथा अन्य वरिष्ठ नेताहरूसँग समेत छलफल गरेको थियो । उक्त भेटमा राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिका, लोकतान्त्रिक सहभागिता, भावी नेतृत्व निर्माण र संगठनात्मक अभ्यासका विषयमा विचार आदानप्रदान भएको बताइएको छ ।

भाजपाले आफ्नो संगठन संरचना, सदस्यता वितरण प्रणाली, उम्मेदवार छनोट प्रक्रिया तथा जनसम्पर्क रणनीतिबारे जानकारी गराएको थियो भने रास्वपाले तल्लो तहसम्म संगठन विस्तार गर्ने मोडलप्रति चासो देखाएको जनाइएको छ । भारत पुगेपछि लामिछानेलाई गरिएको रातो कार्पेट स्वागत र पुष्पवर्षाले पनि नेपाली राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ । समर्थकहरूले यसलाई लोकप्रिय नेताप्रतिको सम्मानको रूपमा व्याख्या गरेका छन् भने आलोचकहरूले राजनीतिक सन्देशसहितको शक्ति प्रदर्शनका रूपमा टिप्पणी गरेका छन् ।

विश्लेषकहरूका अनुसार, सहकारी प्रकरणपछि राजनीतिक दबाबमा रहेका लामिछानेका लागि भारत भ्रमण केवल औपचारिक कूटनीतिक कार्यक्रम नभई राजनीतिक सन्देश दिने अवसरसमेत बनेको छ । विदेशमा देखिएको स्वागत, भारतीय नेतृत्वसँगको संवाद र सार्वजनिक सन्देशले लामिछानेको राजनीतिक सक्रियता अझै प्रभावशाली रहेको संकेत दिने प्रयास भएको चर्चा भइरहेको छ ।

भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *