काठमाडौं । सरकारमाथि प्रेस स्वतन्त्रता खुम्च्याउन खोजिएको आरोप बढिरहेका बेला सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले पत्रकारितामाथि कुनै प्रकारको नियन्त्रण लगाउने उद्देश्य नरहेको बताएका छन्। राष्ट्रिय पत्रकारिता दिवस–२०८३ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको दाबी गरे।
प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली प्रेसमैत्री नभएको भन्दै आलोचना भइरहेका बेला मन्त्री तिमिल्सिनाको यो अभिव्यक्ति अर्थपूर्ण मानिएको छ। उनले लोकतन्त्र बलियो बनाउन स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको उल्लेख गरे। मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत फैलिने फेक न्यूज र भ्रमपूर्ण सूचनालाई चुनौतीका रूपमा चित्रण गर्दै तथ्यमा आधारित पत्रकारिताको आवश्यकता अझ बढेको बताए। प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि जोडिने भएकाले सञ्चारमाध्यमले सत्य र तथ्यलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।
उनले प्रविधिको तीव्र विकासले सञ्चार क्षेत्रमा ठूलो परिवर्तन ल्याए पनि त्यससँगै दुरुपयोग र गलत सूचना फैलिने जोखिम पनि बढेको बताए। सुशासन प्रवर्द्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस वर्षको पत्रकारिता दिवसको नारा ‘सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको जानकारी पनि दिए।




