काठमाडौं । गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित विस्तृत अवधारणा सार्वजनिक गरेका छन्। सोमबार मार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि क्षेत्रमा नीतिगत र संरचनागत सुधार गरे छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने बताएका हुन्।
नेपाली कांग्रेसका सभापति थापाले विगतमा आफूले दिएको “ल्यापटपबाटै मासिक ३–४ लाख आम्दानी सम्भव” भन्ने अभिव्यक्ति योजनाबिनाको नभई दीर्घकालीन सोचसहितको रहेको स्पष्ट पारे। कीर्तिपुरमा आयोजित एक कार्यक्रममा व्यक्त उक्त धारणा सामाजिक सञ्जालमा आलोचित बने पनि सूचना प्रविधि क्षेत्रको सम्भावनालाई संकेत गर्ने उदाहरण भएको उनको भनाइ थियो।
उनले सन् २०२४ देखि २०३४ सम्मलाई “आईटी दशक” का रूपमा अघि बढाउने प्रस्ताव राख्दै पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्ने लक्ष्य प्रस्तुत गरे। सो अवधिमा २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने तथा ३ देखि ५ कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गराउने योजना पनि उनले अघि सारे।
लक्ष्य हासिल गर्न स्थिर कर नीति, दक्ष जनशक्ति उत्पादनका लागि “ट्यालेन्ट हब” निर्माण तथा सार्वजनिक–निजी साझेदारी मोडेललाई प्राथमिकतामा राख्नुपर्ने थापाको जोड छ। नेपाल अब फ्रिल्यान्सिङ र बीपीओ सेवामा मात्र सीमित नरही आफ्नै डिजिटल उत्पादन विकास र निर्याततर्फ केन्द्रित हुनुपर्ने उनले बताए।
सरकारी निकायले समेत स्वदेशमै विकसित प्रविधि र डिजिटल उत्पादनलाई प्राथमिक प्रयोगमा ल्याउनुपर्ने उल्लेख गर्दै उनले नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण निर्माण भए आईटी क्षेत्र आर्थिक रूपान्तरणको प्रमुख आधार बन्न सक्ने विश्वास व्यक्त गरे।




