रिबन

नेपाली कांग्रेसमा विशेष महाधिवेशन : एउटा गलत नजिर

नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी हो । नेपाली कांग्रेसले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा लामो र गौरवशाली परम्परा बोकेको छ । वि.सं २००६ साल चैतमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणबाट स्थापना भएको यस दलले स्थापनाकालदेखि नै मुलुकमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई अगाडि सार्दै आएको छ । यसकारण नेपाली राजनीतिमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभएर लोकतन्त्रको पर्याय नै हो ।

कांग्रेस एक विचार, एउटा लामो इतिहास र नेपालको लोकतान्त्रिक आन्दोलनको अविच्छिन्न मेरुदण्ड नै हो । वि.सं २००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलन र २०६२÷६३ को ऐतिहासिक परिवर्तनसम्म आइपुग्दा कांग्रेसले सधैं मुलुकको राजनीतिक दिशा निर्देश गर्दै आएको छ । तर, आज यही ऐतिहासिक पार्टी आफ्नै आन्तरिक कलह र विधिविहीनताको भुमरीमा फसेर इतिहासकै कठिन मोडमा उभिएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै सह–महामन्त्री फरमुल्लाह मन्सुरमाथि हालै सम्पन्न भनिएको विशेष महाधिवेशन आयोजना गरेर समानान्तर कार्यसमिति चयन समेत गरेको कारण अनुशासन हिन कार्य गरेको भन्दै त्यसको प्रतिकृया स्वरुप सस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा एवं सह–महामन्त्री फरमुल्लाह मन्सुरमाथि पाँच वर्षसम्म कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कारवाही गरेको छ । यस परिस्थितिले कांग्रेस पार्टीमा नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्ष यतिबेला निर्वाचन आयोगमा आधिकारिकताको संघर्षमा उभिन पुग्दा पार्टीको आन्तरिक लोकतन्त्र र भविष्यमाथि समेत गम्भीर प्रश्न खडा गरिदिएको छ ।

ऐतिहासिक विरासत र पद्धतिको महत्व

नेपाली कांग्रेसको जन्म नै विधि, विधान र लोकतान्त्रिक मूल्यको जगमा भएको हो । बीपी कोइरालाले पार्टीलाई विचारको आधारमा अगाडि बढाए भने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले त्याग र निष्ठाको राजनीति सिकाए । कांग्रेसको इतिहास हेर्दा, जब–जब पार्टीभित्र विग्रह आएको छ, त्यसले देशलाई नै अस्थिरतातर्फ धकेलेको छ । वि.सं २०१५ सालको दुई–तिहाइको सरकार होस् वा २०५६ सालको बहुमतको सरकार, आन्तरिक कलहले नै प्रजातन्त्रलाई कमजोर बनाउने र अधिनायकवादी शक्तिहरूलाई खेल्ने मैदान दिएको थियो । इतिहासको यो निर्मम पाठलाई भुलेर आज पार्टीका जिम्मेवार पदाधिकारीहरू नै विधान प्रक्रिया, केन्द्रीय कार्यसमितिको निर्णय र अहिलेको विषम परिपस्थितिलाई समेत बेवास्था गरेर मिचाहा प्रवृत्ति देखाउँदै विशेष महाधिवेशनको बाटो रोज्नु दुर्भाग्यपूर्ण छ । पार्टीको विधानले स्पष्ट रुपमा महाधिवेशन र विशेष महाधिवेशनका प्रक्रियाहरू तोकेको छ । केन्द्रीय कार्यसमितिको बहुमत र वैधानिक प्रक्रियालाई चुनौती दिएर सडकबाटै नेतृत्व चयन गर्ने अभ्यासले लोकतान्त्रिक संस्कारलाई बलियो बनाउँदैन, बरु भत्काउँदै लान्छ ।

विशेष महाधिवेशन : एउटा गलत नजिर

नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी महामन्त्री थापाकै नेतृत्वमा नयाँ कार्यसमिति बनाएका थिए । त्यो विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै संस्थापन पक्ष बलियो प्रमाण सहित निर्वाचन आयोग पुगेको छ ।

गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा र लोकप्रिय नेताहरूमाथि गरिएको अनुशासनको कारबाहीलाई धेरैले भावनाको लेन्सबाट हेरिरहेका छन् । तर, राजनीतिक रूपमा हेर्दा संस्थापन पक्षले चालेको यो कदम अराजकता विरुद्धको एक संवैधानिक रक्षात्मक उपाय हो । पार्टीभित्र फरक मत राख्ने अधिकार सबैलाई हुन्छ, तर फरक मतको नाममा पार्टीको आधिकारिक ढाँचालाई नै भत्काउने गरी समानान्तर समिति बनाउनु वद्रोह नभई विग्रह हो । महामन्त्री पद आफैँमा महत्वपूर्ण जिम्मेवजारी हो, पार्टीको मेरुदण्ड हो । विधान कार्यान्वयन गराउने र पार्टीलाई अनुशासित बनाउने मुख्य जिम्मा पाएका व्यक्तिहरू नै विधान विपरीतको भेलाको नायक बन्दा, यसले तल्ला तहका कार्यकर्तामा कस्तो सन्देश जान्छ ? निर्वाचन आयोगमा पुगेको आधिकारिकताको यो लडाइँले कांग्रेसका लाखौँ कार्यकर्तालाई निरासा र अन्यौलमा धकेलेको छ । आफ्नै दलभित्रको विवाद सुल्झाउन नसकेर राज्यका निकायको शरणमा पुग्नु भनेको कांग्रेसको राजनीतिक संस्कारको जग नै हल्लिनु हो ।

आसन्न निर्वाचन र कांग्रेसको भूमिका

नेपाल अहिले फागुन २१ गते हुने भनिएको निर्वाचनको संघारमा छ । यो निर्वाचन सामान्य आवधिक निर्वाचन मात्र होइन, यो गत भदौमा भएको जेनजी विद्रोह र त्यसपछिको राजनीतिक अस्थिरतालाई चिर्ने एउटा महत्वपूर्ण अध्याय हो । यस्तो संवेदनशील समयमा देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दल विभाजित हुनु भनेको लोकतान्त्रिक शक्तिहरू कमजोर हुनु र देशलाई पुनः अस्थिरताको खाडलमा पु¥याउनु हो । निर्वाचनको मुखमा भएको यो शक्ति संघर्ष समग्र कांग्रेस पार्टीलाई नै आत्मघाती सिद्ध हुन सक्छ । मतदाताहरूले स्पष्ट भिजन र एकीकृत नेतृत्व खोजिरहेका बेला, आफ्नो घर मिलाउन नसक्नेले देश कसरी चलाउँछन् ? भन्ने प्रश्नको उत्तर दिन कांग्रेसका दुवै पक्षलाई कठिन भइरहेको छ । यदि यो विवाद तत्काल सुल्झिएन भने, यसको प्रत्यक्ष लाभ गैर–लोकतान्त्रिक र प्रतिगामी शक्तिहरूले लिने निश्चित् छ ।

विगतको इतिहास केलाउँदा निस्सन्देह, गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसका ती चेहरा हुन् जसले आम युवा पुस्तामा आशाको सञ्चार गरेका थिए । उनीहरूको जोस, एजेन्डा र भिजन कांग्रेसको रुपान्तरणका लागि अपरिहार्य थियो । तर, रुपान्तरणको अर्थ पार्टीको वैधानिक पद्धतिलाई ध्वस्त पारेर ल्याइने परिवर्तन हुन सक्दैन । यो स्पष्ट विचार, आम कार्यकर्ताको भावनाको प्रतिनिधित्व र सहमतिपूर्ण अभियानद्वारा हुनुपर्छ । समग्र पार्टी नेतृत्वले आधिकारिक निर्णयद्वारा गरिने महाधिवेशनबाट हुनुपर्छ । जसमा देशभरका आम कार्यकर्ताहरुको व्यापक सहभागीता र प्रतिनिधित्व हुनु जरुरी हुन्छ । तर विशेष महाधिवेशनमा स्थानीय तहका कांग्रेस कृयाशील सदस्यहरुको अभिमत यो विशेष महाधिवेशनमा जाहेर हुन पाएन । उनीहरुले चुनेर पठाएका प्रतिनिधिबाट हुन पाएन । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन नै गरेर अघिबढ्ने अराजक प्रवृत्तिको नेतृत्व गरेका महामन्त्रीद्वय गगन र विश्वलाई अहिले कांग्रेस केन्द्रीय समितिले बाध्य भएर अनुशासनको कारवाही चलाउन प¥यो । यो कारवाहीलाई आम विशेष महाधिवेशनको पक्षमा उभिन पुगेका प्रतिनिधिहरुले कारबाही किन भयो भन्ने कुराको गम्भीरतालाई बुझ्न आवश्यक छ । पार्टीको साधारण सदस्यदेखि जिल्ला तहसम्मका कार्यकर्ताहरू आज विभक्त छैनन्, उनीहरू केवल एकताबद्ध कांग्रेस चाहन्छन् । बीपी कोइरालाले भने झैं, पार्टीमा विचार र संगठन दुबै चाहिन्छ । विचार छ तर संगठन र पद्धति छैन भने त्यो भीड मात्र हुन्छ ।

निकासको बाटोः गम्भीर आत्मालोचना र मेलमिलाप

अहिले विशेष महाधिवेशनका कारण कांग्रेस संकटमा उभिएको छ । अबको समाधान भनेको अहंकारको लडाइँलाई त्यागेर आत्मालोचनाु र माफीुको बाटो रोज्नु नै हो । गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलगायतका नेताहरूले पार्टी र कार्यकर्तामा पर्न गएको आघातको जिम्मेवारी लिनुपर्छ । विशेष महाधिवेशनको आयोजना विधान विपरीतको विशेष महाधिवेशन आयोजना गर्नु र समानान्तर कमिटी बनाउनु एक गम्भीर राजनीतिक त्रुटि थियो भनेर सार्वजनिक रुपमा स्वीकार्नुपर्छ । पार्टीको आन्तरिक एकता कमजोर बनाएकोमा र निर्वाचनको मुखमा कार्यकर्तालाई निरास पारेकोमा समग्र कांग्रेसजनसँग आत्मालोचना सहित माफी माग्नुपर्छ । र पछिल्लो समयमा समानान्तर गतिविधि गरेर निर्वाचन आयोगमा पुगेको दाबी फिर्ता लिने र पार्टीको मूलधारमा फर्कने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । विशेष महाधिवेशन विद्रोही पक्षले गल्ती स्वीकार गरी आत्मालोचना गरेपछि, संस्थापन पक्षले पनि उदारता देखाएर कारबाही फिर्ता लिएर संवादको ढोका खोल्ने वातावरण निर्माण हुन्छ । अबको लडाइँ को आधिकारिक ? भन्नेमा होइन, कांग्रेस कसरी बलियो बनाउने ? भन्ने विन्दुमा केन्द्रित हुनुपर्छ । यदि उनीहरूले आजै माफी मागेर एकताको हात अगाडि बढाए भने मात्र कांग्रेसले फागुन २१ को निर्वाचनमा विजयको झण्डा गाड्न सम्भव हुन्छ ।

अन्तमा,नेपाली कांग्रेसका हरेक नेता र कार्यकर्ताले स्मरण गर्नुपर्छ—कांग्रेस एउटा पार्टी मात्र होइन, यो एक जीवित आन्दोलन हो । आन्दोलनमा उतारचढाव र मतभेद आउनु स्वभाविक हो, तर आन्दोलन नै समाप्त हुने गरी गरिने क्रियाकलाप कसैको हितमा हुँदैन । विशेष महाधिवेशनको नाममा गरिएको अभ्यासले कांग्रेसलाई कमजोर बनाउने बाहेक केही दिएको छैन । तसर्थ, व्यक्तिगत प्रतिष्ठा र गुटगत स्वार्थलाई त्यागेर एकताबद्ध कांग्रेसको झण्डामुनि गोलबद्ध हुनु नै आजको निर्विकल्प सत्य हो । फुटको राजनीतिले इतिहासमा कहिल्यै कसैलाई न्याय गरेको छैन । निर्वाचनको मैदानमा जाँदा फुटको घाउ र कारबाहीको कलंक लिएर होइन, बरु आत्मालोचनाको साहस र एकताको शक्ति लिएर जानुपर्छ । इतिहासले यो कठिन समयमा नेताहरूले देखाएको धैर्यता र त्यागको नै मूल्यांकन गर्नेछ । विग्रह त्यागौं, विधि बचाऔं र कांग्रेसलाई पुनः नेपाली जनताको भरोसाको केन्द्र बनाऔं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *