काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको निधनप्रति पार्टीले गहिरो शोक व्यक्त गरेको छ। आज (शनिबार) बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै तीन दिनका लागि पार्टीका सबै कार्यालयमा शोक मनाउने निर्णय गरेको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा अन्य एजेन्डामाथि छलफल नभई केवल आलमप्रति श्रद्धाञ्जलामा केन्द्रित रह्यो। बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिँदै कात्तिक २३ गते बिहान ११ः३० बजे बस्ने भनिएको नियमित बैठक स्थगित भई अब कात्तिक २५ गते दिउँसो ११ः३० बजे बस्ने बताए ।बैठकले आलमप्रति उच्च सम्मान व्यक्त गर्दै शोक कार्यक्रमको निर्णयसमेत गरेको छ ।
पार्टीले कात्तिक २२, २३ र २४ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, कात्तिक २३ गते देशभरका सबै पार्टी कार्यालयहरू बन्द गर्ने, र स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ। साथै, सम्बन्धित जिल्लामा शोकसभा आयोजना गरिने पनि निर्णय गरिएको छ ।
स्व. आलमले वि.सं. २०३६ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए। उनले पटक–पटक मन्त्री पद सम्हालेका थिए। वि.सं. २०५३ को उपनिर्वाचनदेखि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनसम्म रौतहट क्षेत्र नं. २ बाट विजयी हुँदै निरन्तर जनप्रतिनिधिका रूपमा रहँदै आएका उनी वि.सं. २०६७ को बाह्रौं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।




