रिबन

जेनजीको भावना अनुसार अघि बढ्ने प्रण

प्रविधिको विकाससँगै विश्व अहिले तीव्र ध्रुवीकरणतर्फ अघि बढेको छ । यससँगै हरेक विचारधारा र मूल्य मान्यतामा फरकपन आइरहेको छ । मिडिया पनि यसबाट अछुतो रहन सक्ने कुरै भएन । हिजो जे थियो, त्यो आज नरहन सक्छ । आज जे छ त्यो भोलि नहुन सक्छ । पत्रकारिता र सञ्चार क्षेत्र पनि त्यस्तै हो । पहिलेका धेरै मूल्य, मान्यता र सिद्धान्त खण्डित भइसकेको छ । तर पत्रकारिताका आधारभूत सिद्धान्त सही सूचना सम्प्रेषण गर्ने विषय भने अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

आठ  वर्षअघि हामीले अनलाइन पत्रकारिता सुरु गर्दा जस्तो अवस्था र परिवेश अनि चुनौती थियो, त्यसभन्दा भिन्नै समय र समाज भइसकेको छ । धेरै परिवर्तन र नवपरिवर्तन भइसकेको छ । त्यससँगै पत्रकारिताको दायरा अझ फराकिलो बनेको छ । चुनौती थपिएको छ । यसलाई हामीले सही ढंगले आत्मसात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । आमसञ्चारको दुनियाँमा मिडियाका परिवर्तित स्वरूप र नयाँ अभ्यास देखापर्ने क्रम जारी छ । अनलाइन मिडियाहरूको भिडमा पाठक वर्गको विश्वास जितेर स्थापित हुने कार्य त्यति सहज छैन ।

हाम्रो प्रयास सदैव सत्य घटनाको यथार्थ विश्लेषण सञ्चारित गर्नु हुनेछ । यसर्थ संकल्पखबर मुख्य रोजाइको पठनीय शब्द भण्डार बन्ने विश्वास हामीले लिएका छौं । हामी फरक समाचार सामग्री आमपाठकलाई पस्कने उद्देश्यका साथ अनलाइन समाचारलाई अडियो र भिडियोमा समेत प्रस्तुत गर्ने जमर्को गर्नेछौं ।

दुई महिनाअघिको जेनजी आन्दोलनले धेरै विचार र मान्यतालाई धूलिसात गरेको छ । जेनजी आन्दोलनको उद्देश्य सही भए पनि त्यसमा भएको घुसपैठबाट कार्यपालिका, व्यवस्थापिका, न्यायालय, पुरातात्विक सम्पदा, प्रहरी प्रशासन, दलका कार्यालय जसरी जलाई खरानी बनाइयो, त्यसको सही ढंगले सूचना सम्प्रेषण हुन नसकेको अवस्था छ । जसले गर्दा देशको अस्तित्व, लोकतान्त्रिक शासन व्यवस्था, दलीय राजनीतिमा प्रश्न उठाउने ठाउँ पाएका छन् । त्यसैले जेनजीका भावना बुझेर पत्रकारिता गर्नु नेपाली मिडियाको सबैभन्दा ठूलो चुनौती हो ।

यस्तो बेला सामाजिक सञ्जाल र डिजिटल मुभमेन्ट अवसर र चुनौती दुवै बनेको छ । त्यसैले संकल्पखबरले यी मुद्दालाई पनि समेट्ने गरेर नवीन ढंगले पत्रकारिता गर्ने प्रण गर्छौ । साथै, संघीय लोकतान्त्रिक व्यवस्था र सविधानवादभन्दा बाहिर नगई आमजनताको पक्षमा सधैं अविरल र अटुट ढंगले आफ्ना धारणा प्रस्तुत गर्नेछौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *