काठमाडौं । करिब एक दशकपछि राजनैतिक ऐतिहासको बन्दी भएको खुल्ला मञ्च खुल्ला भएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि खुलामञ्च सजाइएको छ, मञ्च तयार भएको छ र हजारौँ प्रतिनिधि सहभागी हुने कार्यक्रमका लागि आवश्यक संरचना निर्माण गरिएको छ। विगतमा खुल्लामञ्च बन्द गरिएको थियो । त्यसपछि नागरिकहरु आफ्ना कुरा राख्न माइतीघरमा सडकमा भेला हुँदै आएका थिए ।
कांग्रेसले आइतबार दिउँसो २ बजे महाधिवेशन उद्घाटन गर्दैछ। करिब ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन मात्र होइन, बन्दसत्रसमेत खुलामञ्चमै सञ्चालन गर्ने तयारी गरिएको छ। त्यसका लागि अस्थायी संरचना, हल, मञ्च र अन्य व्यवस्थापन गरिएको छ। तर, यही दृश्यले एउटा पुरानो र अझै अनुत्तरित प्रश्नलाई फेरि सतहमा ल्याएको छ । खुलामञ्च राजनीतिक दलका महाधिवेशनका लागि मात्र खुला हुने हो कि आमनागरिकका लागि पनि सधैं खुला रहने सार्वजनिक स्थान हो रु यही प्रश्न अहिले सार्वजनिक बहसको विषय बनेको छ । खुलामञ्चको नाममै ‘खुला’ छ। यसको अर्थ केवल चारैतिर पर्खाल नभएको ठाउँ भन्ने होइन। यो काठमाडौंका नागरिकले सार्वजनिक कार्यक्रम, सभा, सांस्कृतिक गतिविधि र आफ्ना विचार अभिव्यक्त गर्ने स्थानका रूपमा लामो समयदेखि प्रयोग गर्दै आएको सार्वजनिक क्षेत्र हो।
इतिहासमा राजनीतिक परिवर्तनका विभिन्न चरणको साक्षी बनेको खुलामञ्च सार्वजनिक बहस र नागरिक अभिव्यक्तिको एउटा महत्वपूर्ण स्थल पनि रहँदै आएको छ। तर समयक्रममा यसको प्रयोगको स्वरूप बदलिँदै गएको छ। अतिक्रमण, पार्किङ, अस्थायी संरचना र विभिन्न प्रयोजनका कारण काठमाडौंका खुला क्षेत्र खुम्चिँदै गएको विषयमा विगतदेखि नै प्रश्न उठ्दै आएका छन्। तत्कालीन समयमा काठमाडौं महानगरपालिकाले सो स्थललाई बन्दी बनाएको थियो । ठूलो राजनीतिक कार्यक्रम आयोजना गर्न खुलामञ्च प्रयोग गर्नुपर्ने आवश्यकता हुन सक्छ। हजारौँ मानिस अट्ने ठाउँका रूपमा यसको उपयोगितालाई नकार्न सकिँदैन। कांग्रेसले यसपटक करिब ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनका लागि खुलामञ्च रोजेको छ। तर सार्वजनिक सम्पत्तिको प्रयोगको विषयमा एउटा स्पष्ट मापदण्ड आवश्यक हुन्छ।
कुनै दलको महाधिवेशन होस् वा अन्य ठूलो सार्वजनिक कार्यक्रम-कार्यक्रमको अवधिसम्म खुलामञ्च प्रयोग गर्न दिने हो भने त्यसपछि पूर्वावस्थामा फर्काउने जिम्मेवारी कसको हो रु अस्थायी संरचना हटाउने, मैदान सफा गर्ने, क्षति पुगेको भए मर्मत गर्ने र नागरिकका लागि पुनः खुला गर्ने स्पष्ट व्यवस्था छ कि छैन रु यी प्रश्नको जवाफ केवल आयोजक संस्थाले होइन, सार्वजनिक सम्पत्तिको संरक्षकका रूपमा राज्य र स्थानीय सरकारले पनि दिनुपर्ने हुन्छ। काठमाडौंजस्तो बाक्लो बस्ती भएको सहरमा खुला क्षेत्रको महत्व केवल सभा र कार्यक्रमका लागि सीमित हुँदैन। भूकम्प, आगलागी वा अन्य विपद्का बेला सर्वसाधारणलाई तत्काल सुरक्षित रूपमा भेला हुन सक्ने ठाउँ आवश्यक पर्छ।
काठमाडौंका सार्वजनिक खुला क्षेत्र पहिले नै दबाबमा छन्। विगतमा खुलामञ्चसहितका सार्वजनिक ठाउँको अतिक्रमण र अन्य प्रयोजनमा प्रयोगबारे प्रश्न उठेका छन्। त्यसैले खुलामञ्चलाई हेर्दा आजको कार्यक्रमभन्दा भोलिको काठमाडौंलाई पनि हेर्नुपर्ने हुन्छ। अहिले अस्थायी रूपमा निर्माण गरिएको संरचना भोलि स्थायी बन्ने हो कि होइनरु सार्वजनिक प्रयोजनका लागि छुट्याइएको ठाउँ फेरि अर्को प्रयोजनमा प्रयोग हुने हो कि होइन ? यस्ता प्रश्नमा स्पष्ट नीति आवश्यक देखिन्छ।
सरकारले सार्वजनिक तथा सरकारी जग्गा संरक्षणको विषयमा पछिल्लो समय कदम अघि बढाएको छ। सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै काठमाडौं उपत्यकामा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा संरक्षणको प्रक्रिया अघि बढाएको जनाएको छ। त्यसैले खुलामञ्चको प्रश्नलाई पनि यही व्यापक नीतिसँग जोडेर हेर्न सकिन्छ।
यदि सार्वजनिक जग्गा अतिक्रमणबाट जोगाउने नीति हो भने सार्वजनिक खुला क्षेत्रलाई कार्यक्रम, पार्किङ वा अन्य अस्थायी संरचनाका नाममा क्रमशः साँघुरिन नदिने नीति पनि उत्तिकै आवश्यक हुन्छ। कांग्रेसको महाधिवेशन सकिएपछि खुलामञ्च फेरि नागरिकको नियमित प्रयोगमा आउँछ कि अर्को कार्यक्रमको प्रतीक्षामा बस्छ ? अस्थायी संरचना कति समयभित्र हटाइन्छरु मैदानमा क्षति पुगेको भए त्यसको मर्मत कसले गर्छरु सार्वजनिक खुला क्षेत्रको संरक्षणका लागि काठमाडौं महानगरपालिका र संघीय सरकारको दीर्घकालीन योजना के हो ? र सबैभन्दा महत्वपूर्ण-खुलामञ्चलाई राजनीतिक कार्यक्रमको स्थलसँगै नागरिकको सार्वजनिक अधिकारको स्थानका रूपमा कसरी जोगाइन्छ ?
यी प्रश्न कुनै एउटा राजनीतिक दलसँग मात्र सम्बन्धित छैनन्। आज कांग्रेसले प्रयोग गरेको खुलामञ्च भोलि अर्को दल, अर्को संस्था वा अन्य कार्यक्रमका लागि पनि आवश्यक पर्न सक्छ। तर सार्वजनिक सम्पत्तिको अन्तिम स्वामित्व र उपयोगको अधिकार नागरिकसँग जोडिएको हुन्छ। त्यसैले बहस ‘कसले खुलामञ्च प्रयोग गर्ने ?’ भन्दा अघि ‘खुलामञ्च नागरिकका लागि कसरी सधैं खुला राख्ने ? भन्ने विषयमा केन्द्रित हुनुपर्ने देखिन्छ। कांग्रेसको महाधिवेशनका लागि खुलामञ्च आज खुला छ। अब सरकार र स्थानीय तहसँग नागरिकको प्रश्न छ–यो खुलामञ्च कार्यक्रम सकिएपछि पनि सधैं खुला रहन्छ कि फेरि कुनै अर्को प्रयोजनको नाममा खुम्चिँदै जान्छ ?




