काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने बताएका छन् ।
प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले दूरसञ्चार सेवा अत्यावश्यक सेवा बनिसकेकाले यसको नियमनलाई आवश्यकताअनुसार थप कडा बनाउनुपर्ने बताए ।
दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकाय गम्भीर भएर अघि बढ्ने उनको भनाइ छ ।
घिमिरेका अनुसार नेपालमा भ्वाइस सेवा प्रदान गर्ने अपरेटरको संख्या विगतमा ६ रहेकामा अहिले दुईवटामा सीमित भएको छ । इन्टरनेट सेवा प्रदायक अर्थात् आईएसपीको संख्या भने बढेको छ ।
दूरसञ्चार क्षेत्रको समग्र आम्दानी घट्दो क्रममा रहे पनि डेटा सेवाबाट हुने आम्दानी बढिरहेको उनले बताए । भ्वाइस सेवाबाट हुने आम्दानी भने घटिरहेको छ । तर, आम उपभोक्तामा दूरसञ्चार सेवाको प्रयोग भने दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ ।
यी अवस्थालाई ध्यानमा राखेर प्राधिकरणले नियमनको दायरा फराकिलो बनाउने, सेवा क्षेत्रलाई थप व्यवस्थित गर्ने र आवश्यक ठाउँमा नियमनलाई कडाइ गर्ने अध्यक्ष घिमिरेले बताए ।
प्राधिकरणका कामकारबाहीमा निगरानी राख्दै आवश्यक सुझाव र दबाब दिन उनले सञ्चार क्षेत्रलाई आग्रह गरेका छन् ।
बाह्य प्रभाव वा दबाब आएमा पनि प्राधिकरणलाई सही बाटोमा राख्न सञ्चार क्षेत्रले ‘वाचडग’को भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष घिमिरेले प्राधिकरणले आफ्ना कामकारबाहीबारे हरेक महिना सार्वजनिक रूपमा जानकारी गराउने समेत बताएका छन् ।




