काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटीभीअन्तर्गत स्मार्ट टीभी प्रयोगकर्ताहरुले सेट–टप बक्स बिना नै सेवा प्रयोग गर्नसक्ने भएका छन् ।
कम्पनीले आजदेखि हाललाई एन्ड्रोइड टीभीको लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो ।
टेलिकमका अनुसार ग्राहकहरुले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमा यो भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नेछन् । ग्राहकहरुले गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटीभी’ सर्च गरेर इन्स्टल गरी भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नेछन् । साथै, निकट भविष्यमा सबै स्मार्ट टीभीहरुमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उक्त सेवा थप ग्राहकमैत्री हुनेगरी विकास गरिएको छ ।
नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा १००० रुपैयाँ छुट उपलब्ध हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ । भर्चुअल सेट–टप बक्ससहितको टेलिभिजन प्रयोग गर्नका लागि कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको छ । वार्षिक र दुई वर्षे प्याकेजहरुमा मोबाइल डाटा सुविधा समेत उपलब्ध छ ।




