देश

विपद् व्यवस्थापनलाई तीव्रता दिँदै सरकार, स्रोत–साधन र जनशक्ति परिचालनमा जोड

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भदौ १० गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा देखिएको विपद्को प्रभाव न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर काम भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा सरकार निरन्तर सक्रिय रहेको जानकारी दिए।

बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी थिए। उनीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्तिको प्रभावकारी परिचालनमार्फत विपद् व्यवस्थापनका कामलाई सकेसम्म छिटो टुंग्याउने प्रयास भइरहेको बताए। ‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,’ प्रधानमन्त्री शाहले भने।

उनका अनुसार भोटेकोशी–त्रिशूली, गण्डकीलगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै आवश्यक व्यवस्थापनका काम पनि अघि बढाइएको छ। विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको प्रधानमन्त्री शाहले बताए। उनले हिमपहिरोको सम्भावित जोखिम न्यूनीकरणका लागि समेत सरकारले आवश्यक कदम चालिरहेको जानकारी दिए। प्रधानमन्त्री शाहले विपद्का बेला आफ्नो ज्यानको समेत पर्वाह नगरी उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिसहित सबैप्रति आभार व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *