काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी प्रतिनिधिसभा चुनावअघि पार्टी महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको छ। ललितपुरमा बुधबार बसेको संस्थापन पक्षको बैठकमा सहभागी अधिकांश नेताहरूले “पहिले चुनाव, पछि महाधिवेशन” भन्ने धारणा राखेका छन्।
बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा उपचारमा रहँदा दुई महामन्त्रीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान चलाएको भन्दै असन्तुष्टि प्रकट गरे। नेता विमलेन्द्र निधिले क्रियाशील सदस्यता र महाधिवेशन प्रतिनिधिसम्बन्धी विषयमा आफ्नो धारणा स्पष्ट पारे भने मोहन बस्नेतले महामन्त्री गगन थापाको सचिवालयको आर्थिक स्रोतबारे प्रश्न उठाए।
बैठकमा सहभागी नेताहरूका अनुसार, क्रियाशील सदस्यताको प्रक्रिया अझै टुंगो नलागेकाले नियमित महाधिवेशन चुनावअघि सम्भव छैन। उनीहरूका अनुसार, “विशेष महाधिवेशन” को कुरा अहिले उठाउनु पार्टीभित्र विभाजन निम्त्याउने कदम हुनसक्छ।
संस्थापन पक्षका एक नेताले भने, “हाम्रो प्राथमिकता संगठन सुदृढीकरण र निर्वाचन तयारीमा हो, महाधिवेशनको हतारले पार्टीलाई हानि पुर्याउन सक्छ।”
यसैबीच, असोज २८ देखि स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि पुनः सुरु हुँदैछ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उक्त बैठकमा नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारीमा छन्, तर संस्थापन पक्ष त्यसको विपक्षमा अडानमा छ।
यदि यस्तो प्रस्ताव आएको खण्डमा संस्थापन पक्षले ‘काउन्टर प्रस्ताव’ पनि ल्याउने तयारी गरेको स्रोतले जनाएको छ।




