राजनीति

नेपाली कांग्रेसले पार्टी एकताका लागि कहिले गर्ला गृहकार्य सुरु ?

काठमाडौं । नेपाली कांग्रेस अहिले फेरि उही पुरानो मोडमा उभिएको छ—जहाँ नेतृत्व परिवर्तनको माग, आन्तरिक असन्तोष र फुटको आशंका एकैसाथ घुमिरहेका छन्। विशेष महाधिवेशनको माग गर्दै झन्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित दर्ता भएको प्रस्तावले पार्टीभित्र सन्तुलनको राजनीति डगमगाएको छ।

‘एकताको बहस’ कि ‘फुटको पूर्वाभ्यास’?

कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहे पनि विशेष महाधिवेशन प्रस्ताव अझै औपचारिक रूपमा पेश हुन सकेको छैन। तर त्यसअघि नै पार्टीभित्र आरोप–प्रत्यारोप र अविश्वासको वातावरण तात्न थालेको छ। संस्थापन पक्षका नेताहरू यसलाई “पार्टी फुटाउने योजना” भनेर आरोप लगाइरहेका छन् भने प्रस्तावकहरू यसको व्याख्या “लोकतान्त्रिक दबाब अभियान”का रूपमा गर्छन्।

नेता गुरुराज घिमिरेको भनाइमा, “यो कुनै गुटीय चाल होइन। यो कांग्रेसलाई पुनर्जीवित गर्ने प्रयास हो—जनआस्था फर्काउने अवसर हो।” तर संस्थापन पक्षका केही नेताहरूको आशंका फरक छ। उनीहरू भन्छन्—“यस्ता हस्ताक्षरहरूले पार्टी कमजोर बनाउँछ, एकता होइन।”

कांग्रेसको इतिहासमै नजर गर्दा अहिलेको अवस्था २०५१ र २०५९ सालको घटनाको पुनरावृत्तिजस्तै देखिन्छ।
२०५१ मा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको मतभेदले कांग्रेसलाई विभाजनको संघारमा पुर्‍याएको थियो, तर अन्तिम घडीमा संयमले पार्टी बच्यो। तर २०५९ मा त्यो संयम हरायो—शेरबहादुर देउवाको ‘विशेष भेला’ले अन्ततः पार्टीलाई विधिवत् दुई भागमा विभाजित गर्‍यो। राजनीतिशास्त्री अहिलेको अवस्थाबारे भन्छन्, “कांग्रेसका हरेक संकटमा इतिहासको छायाँ रहन्छ। अहिले पनि प्रश्न यही हो—देउवा र कोइरालाले इतिहास दोहोर्याउँछन् कि नयाँ अध्याय लेख्छन्?”

सभापति शेरबहादुर देउवा अहिले स्वास्थ्य कारण सक्रिय छैनन्, कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएको छ । देवाको अनुपस्थितिमा पनि सत्ता–समीकरणको रस्साकस्सी बढ्दै गएको छ। संस्थापन पक्ष नियमित महाधिवेशनमै जानुपर्ने तर्क गर्छ, जबकि इतर समूह चेतावनी दिइरहेको छ— “मंसिरभित्र नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशन अपरिहार्य हुन्छ।” केन्द्रीय सदस्य मधु आचार्यले भने“केन्द्रीय समितिले निर्णय नगरे, महाधिवेशन प्रतिनिधिहरू आफैं नेतृत्व चयन गर्नेछन्।”

डा. शेखर कोइरालाले फुटको जोखिमबारे चेतावनी दिँदै संयमको अपिल गरेका छन्। उनले २०५९ सालको उदाहरण दिँदै भनेका छन्— “त्यो बेला पनि विशेष भेला डाकियो, तर त्यसले नयाँ पार्टी जन्मायो। अहिले पनि भावनामा बगियो भने नतिजा उही हुन्छ।”तर इतर समूह यसलाई दबाबको अभ्यास मात्र बताउँछ। “यो फुट होइन, सुधारको सुरुवात हो,” एक हस्ताक्षरकर्ता केन्द्रीय सदस्य भन्छन्, “तर नेतृत्वले कान बन्द गर्‍यो भने फुट अपरिहार्य हुन्छ।”

कांग्रेसको भविष्य र लोकतन्त्रको दिशा

‘जेन–जी आन्दोलन’ पछि राजनीतिक दलहरूमाथि जनता निस्क्रिय नभई आक्रोशित छन्।
एमाले र माओवादीले नेतृत्व परिवर्तनको बहस अघि बढाइरहेका बेला कांग्रेसले त्यसलाई टार्ने प्रयास गर्नु आत्मघाती बन्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ। एक राजनीतिक विश्लेषक भन्छन् “कांग्रेस नफुट्नु देशको लागि राम्रो हो, तर यदि नफुट्ने हो भने पनि पुरानो नेतृत्वमै अड्किएर बस्नु लोकतन्त्रकै लागि खतरा हुन सक्छ। नयाँ पुस्ता नआएसम्म कांग्रेसमा पुनर्जीवन सम्भव छैन।” ५४ प्रतिशतको हस्ताक्षरले नेपाली कांग्रेसलाई एकैपटक दुई बाटोको संघारमा पुर्‍याएको छ—एकातिर मेलमिलाप र पुनर्गठनको सम्भावना, अर्कोतिर अर्को विभाजनको खतरा।अब उत्तर तीन ठाउँबाट आउन सक्छ—देउवाको राजनीतिक निर्णय,शेखर कोइरालाको संयम, र सुधार पक्षको धैर्य।

यदि कांग्रेसले इतिहासबाट सिक्न सकेन भने, लोकतन्त्र बलियो होइन, भ्रममात्र रहनेछ। कांग्रेस फुट्दा लोकतन्त्र कमजोर हुन्छ—तर कांग्रेस सुस्त हुँदा लोकतन्त्र बेमतलब बन्छ। विगतदेखि नै कांग्रेस सभापति देउवाले निर्वाचनमा बहुमत हासिल गर्न र कांग्रेसको नेतृत्व देशमा असल र पार्दर्शी बनाउन गुटलाई तोडेर एकता अपरिहार्या भएको बताउँदै आएका थिए । अहिले डा. शेखर कोइराला पनि पाटी एकता गर्न नसके ठूलो पार्टी भएर पनि अल्पमतमा पर्न सक्छ , त्यसैले कांग्रेसले विगतका गुट र फुटको विषय बिर्सेर एकतातिर नै अघि लम्किनुपर्ने बताउदैँ आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *