राजनीति

कांग्रेस महाधिवेशन मंसिर २७–२९ मा गर्न महामन्त्री गगनको प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको कार्यसम्पादन समितिको बैठकमा मंसिरभित्रै १५औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन्।

गत बुधबारदेखि सुरु भएर बिहीबारसम्म चलेको कार्यसम्पादन समितिको बैठकमा थापाले नियमित महाधिवेशनका लागि दुईवटा विकल्पसहितको कार्यतालिका पेश गरेका हुन्।

पहिलो विकल्प अनुसार नयाँ सदस्यता वितरण तथा नवीकरण भएका सदस्यहरूको इन्ट्री कात्तिक २१ सम्म सक्ने प्रस्ताव गरिएको छ। फारम भर्ने दुई साता र प्रतिनिधि सभा क्षेत्रबाट स्वीकृत गर्ने एक साताको समय सीमा तोकिएको छ। नयाँ पुस्ता—विशेषगरी जेनजी (GenZ)—लाई क्रियाशील सदस्यता प्रदान गर्ने गरी सबै वडामा सदस्यता वितरण गर्ने योजना प्रस्तावमा समावेश छ।

नयाँ सदस्यता र नवीकरणसम्बन्धी विवाद कात्तिक मसान्तसम्म समाधान गर्ने, क्रियाशील सदस्यहरूको नामावली निर्वाचन समितिलाई मंसिर ७ भित्र बुझाउने र वडा अधिवेशन मंसिर १२ र १३ गते गर्ने प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन र जनसम्पर्क समितिको अधिवेशन मंसिर २१ मा गर्ने, र केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ सम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।

दोस्रो विकल्पमा वडाबाट केन्द्रसम्मका सबै तहको अधिवेशनको मिति फरक–फरक तोकिएको छ—वडा अधिवेशन मंसिर ५, गाउँ/नगर अधिवेशन मंसिर ८, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर १२, प्रतिनिधि सभा क्षेत्र, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा जनसम्पर्क समिति मंसिर १५, जिल्ला अधिवेशन मंसिर १८, प्रदेश अधिवेशन मंसिर २१ र केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ सम्म हुने प्रस्ताव गरिएको छ।

सदस्यता नवीकरणका सन्दर्भमा थापाले १४औँ महाधिवेशनमा रहेका क्रियाशील सदस्यहरूमध्ये मृत्यु वा पार्टी परित्याग नगरेका सबै सदस्यको नवीकरण भएको मान्यता दिन सकिने प्रस्ताव पनि गरेका छन्।

विधान संशोधन गरेर क्रियाशील सदस्यबाटै सिधै नेतृत्व चयन गर्ने सम्भावनासमेत उनले प्रस्तुत गरेका छन्। समयको चापका कारण ढिलोमा पुसको पहिलो साता महाधिवेशन गर्न सकिने तेस्रो विकल्प पनि थापाले राखेका छन्। उनले मंसिरमा महाधिवेशन हुन नसके काँग्रेसलाई विशेष महाधिवेशनमा जानुपर्ने धारणा समेत व्यक्त गरेका छन्।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार असोज मसान्तसम्म ८१ प्रतिशत सदस्यले नवीकरण गरिसकेका छन्। तीमध्ये ६० जिल्लामा नवीकरण कार्य पूरा भएको तर इन्ट्री प्रक्रिया अझ बाँकी रहेको समितिले जनाएको छ।

२८ असोजदेखि जारी केन्द्रीय समिति बैठकमा भने थापाको प्रस्ताव औपचारिक रूपमा प्रस्तुत हुन सकेको छैन। संस्थापन पक्षीय नेताहरू मंसिरमा महाधिवेशनको पक्षमा नरहेकाले थापाको कार्यतालिका पेश गर्न नसकिएको बताइन्छ। दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, साथै डा. शेखर कोइराला पक्ष भने मंसिरमै नियमित महाधिवेशन गर्ने पक्षमा छन्। उनीहरूले महाधिवेशन गर्न नसके विशेष अधिवेशनमा जानुपर्ने अडान लिएका छन्।

gagan (1)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *