काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सात जना सदस्यहरूले आफ्नो धारणा राखेका छन् । बिहीबार दिउँसो बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेन–जी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गरेको छ ।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सदस्यहरूले महाधिवेशनबारे स्पष्टता हुनुपर्ने माग राखेको जानकारी दिए । उनका अनुसार, नेताहरूले सरकारले निर्वाचन सहज बनाउनुपर्ने बेलामा प्रतिशोध लिने गतिविधि गरेको, आम नागरिक सुरक्षित महसुस गर्न नसकेको र सुरक्षा निकायको मनोबल कमजोर भएको बताएका छन् ।
बैठकमा केही सदस्यहरूले संसद् पुनःस्थापनासम्बन्धी धारणा पनि राखेका थिए । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिँदै पार्टीको नियमित महाधिवेशन नै अघि बढाउने बताए । उनले विशेष महाधिवेशनको एजेन्डा बैठकमा नरहेको स्पष्ट पारे ।
बैठकपछि नेता अर्जुननरसिंह केसीले जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने र नियमित अधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । उनले जेन–जीको पहिरनमा गरिएका गतिविधि र संलग्न व्यक्तिहरू पत्ता लगाउनुपर्ने बताए ।
त्यस्तै, केन्द्रीय सदस्य रामहरि खतिवडाले सरकारले कानुनको मर्म विपरीत शासन चलाएको आरोप लगाउँदै समाजमा त्रास र असुरक्षा बढेको बताए । उनले जेन–जीका मागहरू सम्बोधन गर्दै पुराना र नयाँ पुस्ताबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँले जेन–जी आन्दोलन, आगजनी, तोडफोडलगायतका घटनाबारे मूल्याङ्कन गर्नुपर्ने र पार्टी सभापति तथा नेतामाथि भएको आक्रमणबारे गम्भीर छलफल गर्नुपर्ने बताए ।
उनले समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने, निर्वाचनको विश्वसनीय वातावरण बने कांग्रेस त्यसमा सहभागी हुने र संसद् विघटन असंवैधानिक भएको धारणा पनि व्यक्त गरे । बानियाँका अनुसार, कांग्रेसले एकताबद्ध भएर कार्यतालिका बनाएर अघि बढ्ने तयारी गरेको छ ।




