काठमाडौं । नेपाली कांग्रेस अहिले संवेदनशील मोडमा पुगेको छ। सभापति शेरबहादुर देउवा उपचाररत रहँदा पार्टीभित्र नेतृत्व परिवर्तन र महाधिवेशनको बहस सुरु हुनु केवल आन्तरिक लोकतान्त्रिक अभ्यासको मुद्दा मात्र नभई एकताको भविष्यसँग जोडिएको चुनौती बनेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आक्रामक गतिविधि र अभिव्यक्तिले कांग्रेसलाई ‘सशक्त संगठन’ बनाउनेभन्दा ‘संकटग्रस्त पार्टी’ बनाउने संकेत गरेको भन्दै तीव्र आलोचना भइरहेको छ। थापाले नियमित वा विशेष महाधिवेशनको प्रस्ताव अघि सार्दा, शर्मा भने संसद् पुनःस्थापनाबारे फरक लाइन लिएर सार्वजनिक भएका छन्। यी कदमले कांग्रेसभित्र असन्तोषलाई संस्थागत गर्ने कि समाधान गर्ने भन्ने प्रश्न उठेको छ।
गत महाधिवेशनपछि संगठन विस्तार र नेतृत्वको एकीकृत कार्ययोजना अघि बढ्न नसक्दा कार्यकर्तामाझ अविश्वास बढेको छ। पार्टी कार्यालय जल्ने, सभापति देउवामाथि आक्रमण हुने र करोडौंको क्षति हुनेजस्ता घटनाले संगठनात्मक कमजोरीलाई अझ उजागर गर्यो। यस्तोमा नियमित महाधिवेशन नै एक मात्र विकल्प भएको विश्लेषकहरूको तर्क छ।
गगन थापाले ‘पद त्याग्न तयार छु’ भन्दै गरेको नाटकीय प्रस्तुति धेरैका नजरमा ‘राजनीतिक स्टन्ट’ मात्र रह्यो। अर्कोतर्फ, शर्माले जनआन्दोलनलाई आंशिक समर्थन र संसद् पुनःस्थापनाबारे अस्पष्ट धारणा दिँदा पार्टीको आधिकारिक लाइन कमजोर भएको आरोप लाग्यो। आलोचकहरू भन्छन्– “महामन्त्रीले नेतृत्वलाई सन्तुलन दिनुपर्ने बेला व्यक्तिगत महत्वाकांक्षामा डुब्नु गैरजिम्मेवार राजनीति हो।” कांग्रेस इतिहासमै स्पष्ट छ—महाधिवेशन नियमित हुँदा मात्र पार्टीभित्रको गुटगत प्रतिस्पर्धा संस्थागत सीमाभित्र रहन्छ। ढिलाइ भए असन्तोष गहिरिन्छ, जसको प्रभाव लोकतान्त्रिक अभ्यासमै पर्छ। यही कारण महाधिवेशनलाई ‘एकताको टर्निङ प्वाइन्ट’ का रूपमा हेरिएको छ।
। नियमित महाधिवेशन गर्दै संगठनलाई एक ढिक्का बनाउने विषयमा कांग्रेसका दुई महामन्त्रीले प्रमूख भूमिका खेल्नुपर्छ । नेपाली कांग्रेसभित्र प्रमूख नेतृत्वका रुपमा हेरिएका महामन्त्री शर्मा र गगनले नियमित महाधिवशेनलाई तोडेर विशेष महाधिवेशनको कुरा गर्दा आगामी दिनमा उनीहरुले नेतृत्वमा विषयमा थप प्रश्न चिह्न खडा हुन्छ । नियमित महाधिवेशन नगरेर विशेषमहाधिवेशनलाई केन्द्रमा राखेमा महामन्त्रीहरुको अवसरवादी सोचको कडा आलोचना हुने भएकाले कांग्रेसभित्र आन्तरिक अविश्वासलाई विभाजनमा रूपान्तरण गर्छ ।
यी दुई विकल्पबीचको निर्णायक भूमिका भने पार्टीका महामन्त्रीकै काँधमा छ। तर हालसम्म देखिएको गतिविधिले उनीहरू ‘संगठनका संयोजक’ भन्दा बढी ‘विवादका प्रर्वतक’ बनेका छन् भन्ने आलोचना चर्किंदै गएको छ। कांग्रेसलाई एक ढिक्का बनाउन हो भने नियमित महाधिवेशन तत्काल गर्ने र महामन्त्रीहरूले व्यक्तिगत महत्वाकांक्षा भन्दा संस्थागत भूमिकामा फर्कनु अपरिहार्य देखिन्छ।




