काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा भएको आगजनी आकस्मिक नभई योजनाबद्ध रहेको दाबी गरेका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा युवा तथा विद्यार्थीहरूसँग भेटघाट गर्दै उनले देशको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवा पुस्ताकै काँधमा रहेको बताए।
ओलीले नेपाल अहिले विश्वसमुदायमा बदनाम बन्दै गएको उल्लेख गर्दै भने, “नेपालीलाई भिसा नदिने, काम नदिने अवस्था भइसकेको छ। नेपाल कर्मठ र इमानदार मानिसहरूको देश हो भन्ने पहिचान बनाउन जरुरी छ।”
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले थपे, “देशलाई माया गर्नेले सिंहदरबार जलाउँदैन। पहिले नै ‘सिंहदरबार जलाउँछु’ भन्नेहरूले योजनाबद्ध रूपमा यस्तो काम गरेका हुन्।”
उनले कठिन परिस्थितिमा युवाले हरेस नखाई सकारात्मक सोचसहित अघि बढ्नुपर्नेमा जोड दिँदै बाह्य हस्तक्षेप र षड्यन्त्रविरुद्ध दृढतापूर्वक उभिन निर्देशन दिए।




