राजनीति

डा. महतको आक्रोश : लुटेर होइन, मिहिनेतले घर जोडेको हुँ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जेनजी आन्दोलनको क्रममा आफ्नै घर जलाइएको घटनाप्रति दुःख र असन्तोष व्यक्त गरेका छन्। आफूले अवैध कमाइबाट नभई मेहनत र अवसरमार्फत सम्पत्ति जोडेको भन्दै महतले आक्रोश प्रकट गरेका हुन्।

महतका अनुसार उनी अमेरिकामा छात्रवृत्तिमा अध्ययन गर्न पुगेका थिए, जहाँ उनको पत्नीले काम गरेर आम्दानी गरेकी थिइन्। सो आम्दानी र छात्रवृत्ति मार्फत भएको लगानीले नै घरजग्गा जोडिएको उनले बताए। “लुटेर, ठगेर, बदमासी गरेर कमाएको पैसा होइन। म जहिले–जहिले पदमा पुगेँ, देश र जनतालाई केन्द्रमा राखेर काम गरेको हुँ,” महतको भनाइ छ।

महतले सात कक्षादेखि नै जेल जान थालेको स्मरण गर्दै आफूलाई “यत्तिकै कसैले ठ्याक्क राखेको मान्छे” नभएको स्पष्ट पारे। ०४६ सालको आन्दोलनताका आफू सञ्चालक समितिका सदस्य भएको र लोकतन्त्र स्थापनाका लागि निरन्तर संघर्ष गरेको उनले बताए।

आलोचनात्मक मानसिकताप्रति प्रश्न

समाजमा मिहिनेत गरेर प्रगति गर्ने व्यक्तिलाई पनि बदनाम गर्ने प्रवृत्ति देखिएकोमा महतले चिन्ता व्यक्त गरे। उनका अनुसार असल नियत र इमान्दारिताका साथ राजनीति गर्नेहरूलाई पनि “बदमास” भन्न सुरु हुनु गम्भीर समस्या हो। हालैको आन्दोलनमा विभिन्न दलका कार्यकर्ता मिसिएको भन्दै महतले त्यसको नियत र उद्देश्यबारे प्रश्न उठाए। उनले सबै पार्टीलाई यस्तो प्रवृत्तिलाई मूल्यांकन गर्न आग्रह गर्दै “धमिलो पानीमा खेल्दै आफ्नो रोटी सेकाउने” गतिविधिप्रति सचेत रहनु पर्नेमा जोड दिए।

पुराना नेतामाथि आक्रमणप्रति खेद

महतले लोकतन्त्रका लागि जीवनभर संघर्ष गरेका नेताहरूमाथि समेत आक्रमण हुनु खेदजनक भएको टिप्पणी गरे। विपी कोइराला, कृष्णप्रसाद कोइराला र गणेशमान सिंहजस्ता नेताको योगदानलाई प्रश्न गर्ने प्रवृत्ति गलत भएको उनले औंल्याए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *