काठमाडौँ। नवनियुक्त चार मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शपथ ग्रहण गरेका छन्। शितलनिवासमा आयोजित विशेष समारोहमा उद्योग, कानुन र भूमि मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना तथा कृषि मन्त्रालयका मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन्।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जगदिश खरेलले सञ्चार तथा सूचना मन्त्रालय, र मदन परियारले कृषि मन्त्रालयको शपथ लिएका हुन्।
यसैबीच, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम मन्त्रीका लागि सिफारिस भएको भए पनि अन्तिम समयमा ‘होल्ड’ भएको बताइएको छ।
यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री सुशीला कार्की गत भदौ २७ गते नियुक्त भएकी थिइन्। उनका नेतृत्वमा आठ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।
शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री कार्कीसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।




