देश

अन्तरिम सरकारमा विज्ञ खोजी : महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्न इच्छुक, भगवान कोइरालाले भने अस्वीकार

काठमाडौं । अन्तरिम सरकार विस्तारका क्रममा विभिन्न क्षेत्रका विज्ञहरूलाई मन्त्री बन्न आग्रह गरिएको भए पनि सबैले सकारात्मक जवाफ दिएका छैनन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई स्वास्थ्य मन्त्रालय जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिए पनि उनले आफू इच्छुक नरहेको जवाफ दिएका छन्। सरकारले पहिलो चरणमै उनलाई सहभागी गराउन खोजेको भए पनि उनले अस्वीकार गरेपछि अन्य व्यक्तिहरूमाथि नजर पुगेको सहभागी स्रोतले जनाएको छ।

डा. कोइराला अहिले बाल अस्पताल निर्माण अभियानमा व्यस्त छन्। भाटभटेनी सुपरमार्केटसमेत जेनजी आन्दोलनको निशानामा परेको र केही प्रदर्शनकारीहरूले उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेको आरोप लगाएको कारण पनि उनी अनिच्छुक बनेको बुझिएको छ।

त्यस्तै आविष्कार केन्द्रमार्फत नवीनतम परियोजनामा सक्रिय महावीर पुनले भने विज्ञान प्रविधि मन्त्रालय सम्हाल्न चाहना प्रकट गरेका छन्। हाल शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय एउटै संरचनामा रहेकाले विज्ञान प्रविधि अलग गरी आफू त्यस मन्त्रालयमा काम गर्न इच्छुक रहेको उनको धारणा छ।

प्रधानमन्त्री सुशिला कार्कीले सानो आकारको मन्त्रिपरिषदलाई पूर्णता दिन कठिनाइ भोगिरहेको निकट स्रोतले जनाएको छ। जेनजी आन्दोलनका विभिन्न समूह, विज्ञ, पूर्वप्रशासक र अन्य शक्तिहरूले आफ्ना प्रतिनिधित्वको माग गरिरहेका कारण दबाब थपिएको छ।

सरकारले आजै मन्त्रिपरिषद बैठकमार्फत न्यायिक छानबिन आयोग गठन गर्ने तयारी गरेको समेत स्रोतले जानकारी दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *