देश

पार्टी कार्यालय जल्यो,नयाँ ‘भव्य भवन’ निर्माण गर्ने प्रचण्डकाे घोषणा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र भव्य पार्टी भवन निर्माण गर्ने घोषणा गरेका छन्।

मंगलबार दिउँसो क्षतिग्रस्त कार्यालय अवलोकन गर्न पेरिसडाँडा पुगेका प्रचण्डले “देशभरका कार्यकर्ताको सामूहिक सहयोगले फेरि नयाँ, अझ भव्य पार्टी कार्यालय बनाइनेछ” भनेर घोषणा गरेका हुन्। आन्दोलनकारीले लगाइदिएको आगलागीले पेरिसडाँडाको भवन प्रयोगयोग्य नरहेको भन्दै उनले यो घटनालाई दुःखद भने पनि पार्टीलाई पुनः एकजुट भएर अघि बढ्ने अवसरको रूपमा लिनुपर्ने धारणा राखे।

प्रचण्डले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, “हाम्रो सम्पत्ति जलेको हो, तर हाम्रो विश्वास, हाम्रो सङ्गठन र हाम्रो संघर्ष जलेको छैन। अब यो खण्डहरको ठाउँमा अझ आधुनिक र गौरवपूर्ण भवन निर्माण हुनेछ।” पार्टी निकट नेताहरूले भवन निर्माणका लागि देशभरका कार्यकर्ता, जनसमर्थक र शुभेच्छुकहरूसँग सहयोग संकलन अभियान सुरु गरिने तयारी भइरहेको जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *