देश

चितवनमा जेन–जी आन्दोलनले पुर्‍याएको क्षति र कार्यालय सञ्चालनको अवस्था : प्रारम्भिक तथ्यांक सार्वजनिक,७९ सरकारी भवनमा क्षेति

काठमाडौं । जेन–जी समूहको आन्दोलनपछि चितवन जिल्लामा भौतिक र मानवीय क्षतिको प्रारम्भिक विवरण सार्वजनिक हुँदैछ। जिल्ला सुरक्षा समिति र प्रमुख जिल्ला अधिकारी ९प्र।जा।अ।० गणेश अर्यालका अनुसार, आन्दोलनमा दुई जनाको ज्यान गएको छ। मृत्यु भएका मध्ये एक व्यक्ति भरतपुर उपमहानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगजनी र लुटपाटमा परेका २१ वर्षीय सरोज गुरुङ रहेको पुष्टि भएको छ। अर्का एक व्यक्ति रत्ननगर नगरपालिकाका कार्यालयभित्र जलेको अवस्थामा भेटिएका छन्, जसको उमेर १८ वर्ष र भारतीय नागरिक रहेको पाइएको छ।

जिल्लामा जेन–जी आन्दोलनका क्रममा १४ जना प्रदर्शनकारी र १२ जना सुरक्षाकर्मी घाइते भएका थिए। घाइतेमध्ये चार जना प्रदर्शनकारी अझै उपचाररत छन्। सुरक्षा बलले नियन्त्रणमा लिन २ सय राउण्ड हवाई फायर र ३ सय ५० सेलेक्टेड ग्याँससेल प्रयोग गरेको थियो।

भौतिक क्षति सन्दर्भमा, ९८ वटा संरचना तोडफोड र आगजनीमा परेका छन्। यसमा ७९ सरकारी भवन, १६ निजी घर तथा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यालय समावेश छन्। क्षति मूल्याङ्कनका लागि प्राविधिक टोली परिचालन गरिएको छ र तीन दिनभित्र विवरण बुझाउने तयारी भइरहेको छ।

कार्यालय सञ्चालनबारे प्र।जा।अ। अर्यालले बताएअनुसार, अधिकांश सरकारी भवनमा लिखित मिसिल नभए पनि अत्यावश्यक सेवा सञ्चालनमा राखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले नागरिकता वितरण र राहदानी सेवा सामान्य रूपमा सुरु गरेको छ। स्थानीय तहमा पनि क्षतिको आकलन र सेवा सञ्चालनका लागि संयुक्त छलफल भइसकेको छ।

चितवन कारागारमा पनि हाल अवस्था स्थिर छ। आन्दोलनका दिन ७२५ कैदी घर फर्केका थिए, भोलिपल्ट जारी सूचनामा ३२७ कैदी फिर्ता भएका छन् भने ४१५ अझै फर्किन बाँकी रहेका छन्। प्रहरीले अब समयसीमा निर्धारण गरेर अवज्ञा गर्ने व्यक्तिलाई कानुन अनुसार नियन्त्रणमा लिने तयारी गरेको छ।

प्रारम्भिक तथ्यांक अनुसार, कम्प्युटर, कुर्सी, टेबल लगायत कार्यालयका फर्निचरको तत्काल आवश्यकताका लागि स्थानीय तथा निजी सहयोग जुटाउने तयारी भइरहेको छ। प्र.जा.अ. अर्यालले बताएअनुसार, “सहयोग एकद्वार प्रणालीबाट वितरण गरिनेछ र प्राथमिकताका आधारमा पुनर्स्थापनामा खर्च गरिनेछ।”

यस रिपोर्टले जेन–जी आन्दोलनले जिल्ला प्रशासन, सरकारी कार्यालय र स्थानीय प्रशासनमा पुर्‍याएको क्षति र त्यसको व्यवस्थित सुधारको प्रक्रिया प्रारम्भ भएको स्पष्ट पारेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *