काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित थापागाउँमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्। ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को नाममा सञ्चालन हुने उक्त कार्यालय उद्घाटन कार्यक्रमा पूर्वराष्ट्रपति भण्डारी स्वयं उपस्थित भई उद्घाटन गरेकी हुन्।
राजनीतिक रूपमा पुनः सक्रिय भइसकेकी भण्डारीले नेकपा एमालेको संगठन र बहुदलीय जनवादको विस्तारमा आफ्नो संरक्षकत्वमा छुट्टै राजनीतिक अभ्यास अघि बढाउने संकेत गरेकी छन्।
संपर्क कार्यालयका लागि उनले आफ्ना पति एवम् तत्कालीन एमाले महासचिव मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमको लागि प्रयोग गरेको घर रोजेकी छन्। चार तले रातो भवन, जुन बानेश्वरको लाखेचौर मार्गमा भाडामा लिइएको छ, अब ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयको रूपमा प्रयोग हुनेछ।
यसैसँगै, छोरी उषाकिरणको अध्यक्षतामा सञ्चालित मदन भण्डारी फाउन्डेसनले डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेललाई भण्डारीको राजनीतिक प्रियपात्र मानिन्छ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यस फाउन्डेसनलाई ‘ठगीखाने भाँडो’ भनेर आलोचना गरिसकेका छन्। साउन २६ गते च्यासलमा आयोजित कार्यक्रममा ओलीले फाउन्डेसनलाई व्यक्तिगत र परिवारको संस्था मात्र रहेको उल्लेख गर्दै यसको राजनीतिक प्रयोगविरुद्ध चेतावनी दिएका थिए।
एमालेमा भण्डारीको गतिविधि सक्रिय भइरहेकाले अध्यक्ष ओलीले सदस्यता नवीकरण रोक्ने निर्णयसमेत गराएका थिए। त्यसबाहेक, भण्डारीले फाउन्डेसनमार्फत राजनीतिक भेटघाट जारी राख्दै केही दिनअघि विराटनगरमा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट समेत गरेकी छन्।
उद्घाटन कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सरिता न्यौपाने, बाबुराम गौतम, कृष्ण प्रसाद दाहाललगायतका केन्द्रीय सदस्य उपस्थित थिए। त्यस्तै, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, काठमाडौं अध्यक्ष दीपक निरौला र पूर्वमन्त्री महेन्द्र पाण्डे पनि सहभागी भएका थिए।
पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले आगामी एमालेभित्रको राजनीतिक परिदृश्यमा नयाँ तरंग सिर्जना गर्ने अनुमान गरिएको छ।




