काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भारत र चीनबीच लिपुलेक र कालापानीसम्बन्धी भएको भनिएको सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सरकारले संसद्ममा आधिकारिक धारणा दिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई छिमेकीबीच भएको सहमतिले नेपाललाई दुःखी बनाएको टिप्पणी गरे। उनले नेपालको भूभागमाथि गरिएको हस्तक्षेपप्रति सरकार मौन बस्न नहुने उल्लेख गर्दै तत्काल सदनलाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याए।
पाण्डेले भने, “देशको सार्वभौमिकता र अखण्डताको सवालमा सरकारले ढिलाइ गर्नु हुँदैन, संसद्मा स्पष्ट धारणा ल्याउनै पर्छ।” उनले राष्ट्रियता र सीमा सम्बन्धी संवेदनशील विषयमा सरकारको दृढ कूटनीतिक पहल अपरिहार्य रहेको समेत जोड दिए।




