गलकोट (बागलुङ) । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास हुँदै गएको छ । ताराखोलामा दुई जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् भने चार आयोजना निर्माण वा प्रक्रिया चरणमा छन् ।
सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम खोला ‘ए’ आयोजना सम्पन्न गरी विद्युत् उत्पादन गरिसकेको छ । यसअघि पाँच वर्षअघि ३८० किलोवाट क्षमताको ताराखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।
हाल मध्यताराखोला मध्यदरम ‘ए’ आयोजना ६० प्रतिशत सम्पन्न भएको छ भने चार मेगावाट क्षमताको दरम ‘ए’ आयोजनाको ४० प्रतिशत काम सकिएको सञ्चालक मिलन खतिवडाले जानकारी दिए । यस्तै, तीन दशमलव पाँच मेगावाट तल्लो ताराखोला र चार दशमलव पाँच मेगावाट मध्यदरम ‘बी’ आयोजना प्रक्रियामा छन् ।
ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले स्थानीय लगानीमा निर्माण भइरहेका आयोजना सम्पन्न भएमा गाउँको आर्थिक विकासमा टेवा पुग्ने बताए । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले विद्युत् उत्पादनका कारण स्थानीयस्तरमा उत्साह बढेको उल्लेख गर्दै यसले गाउँको आर्थिक र सामाजिक उन्नतिमा योगदान गर्ने विश्वास व्यक्त गरे ।




