राजनीति

राप्रपा युवा अधिवेशनमा झडपः ‘बाहुबली’ शैलीको प्रदर्शनले पार्टीको अनुशासनमाथि प्रश्न, अध्यक्ष लिङदेनको कडा चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन संगठनको शक्ति प्रदर्शनभन्दा बढी, गुण्डागर्दीको प्रदर्शनमा बदलियो। चाबहिलस्थित एक पार्टी प्यालेसमा मंगलबार भएको अधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमै दुई पक्षबीच हात हालाहाल भएपछि राजनीतिक अनुशासनको स्तरमाथि गम्भीर प्रश्न खडा भएको छ।

कार्यक्रम सुरु हुनु अघि नै संस्थापन पक्ष र धवलशम्शेर राणा पक्षका युवाबीच वाक्‌युद्ध चर्किँदै शारीरिक झडपमा परिणत भएको प्रत्यक्षदर्शीले बताएका छन्। अध्यक्ष लिङ्देनको मञ्च प्रवेशसँगै झडप तीव्र बनेपछि प्रहरीसमेत परिचालन गर्नुपर्‍यो।

अध्यक्ष लिङ्देनले मञ्चबाटै “बाहुबली प्रदर्शन नगर्न” चेतावनी दिँदै, असन्तुष्ट पक्षलाई छलफलमार्फत विवाद समाधान गर्न आग्रह गरे। तर, उनले दिएको ‘पार्टीको भविष्य युवामाथि टेकेको छ’ भन्ने सन्देश, हात हालाहालको दृश्यबीच कमजोर सुनिन पुग्यो।

युवा संगठनको अधिवेशन स्थगित भएको छ। स्थगनको कारण स्पष्ट भए पनि यसको प्रभाव भने गहिरो छ—युवालाई पार्टीको मेरुदण्ड भनिँदा भनिँदै, यही युवामार्फत अधिवेशन विथोलिने अवस्था आउनु राप्रपाको संगठनात्मक कमजोरीको स्पष्ट उदाहरण हो।

राजनीतिक संगठनमा मतभेद स्वाभाविक भए पनि, सार्वजनिक मञ्चमा देखिएको ‘बाहुबली’ संस्कृति र गालीगलौजको वातावरणले राप्रपाको आन्तरिक लोकतन्त्रप्रतिको प्रतिबद्धता नै प्रश्नवाचक बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *